आज श्रावण शुक्ल पञ्चमीका दिन देशभर हिन्दू धर्मावलम्बीहरूले नागपञ्चमी पर्व श्रद्धाका साथ मनाइरहेका छन्। परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसी दूध, अक्षता, दुबो, खीर, रोटी लगायतका परिकार चढाई पूजाआजा गर्ने चलन छ।
धार्मिक विश्वास अनुसार नाग पूजाले वर्षभर सर्प, नाग, बिच्छीलगायत जीवको त्रासबाट बच्न सकिन्छ। साथै, चट्याङ, आगलागी र प्राकृतिक प्रकोपबाट पनि सुरक्षा मिल्ने विश्वास छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार नाग पूजाको परम्परा वैदिक कालदेखि चलिआएको हो। नागलाई जल, भूमि र वातावरणसँग सम्बन्धित शक्तिका रूपमा पूजिन्छ।
काठमाडौंको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागस्थानमा आज विशेष पूजाआजा तथा श्रद्धालुहरूको भीड लागेको छ। नागपञ्चमीसँगै हिन्दू धर्मावलम्बीका अन्य चाड–पर्वहरूको औपचारिक सुरुआत हुने मानिन्छ।
प्रतिक्रिया