भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलाहरूलाई नेपाल फिर्ता ल्याइएको छ । ती महिलाहरू बिना ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) कुवेत जान लागेका थिए ।
भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत तर्फ उड्न लागेका ती महिलाहरुलाई दिल्लीस्थित नेपाली दूतावास र स्थानीय सुरक्षाकर्मीको समन्वयमा पक्राउ गरी नेपाल ल्याईएको हो ।
दिल्लीस्थित नेपाली दूतावासका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश मल्ल सहितको टोलीले सुनौली नाका हुँदै महिलाहरूलाई नेपाल प्रवेश गराई रूपन्देही प्रशासनको जिम्मा लगाएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । उनका अनुसार अहिले ती महिलाहरूलाई काठमाडौँ ल्याउने तयारी भईरहेको छ ।
यस घटनाले वैदेशिक रोजगारीमा अवैध बाटो अपनाउने प्रवृत्तिको गम्भीर संकेत देखाएको भन्दै गृह मन्त्रालयले कडा कदम चाल्ने बताएको छ ।
गृहमन्त्री रमेश लेखकले उक्त घटनाको गम्भीरताका छानविन गर्न मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई निर्देशन दिएका छन् । उनले दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन पनि स्पष्ट आदेश दिएका छन् ।
गृह मन्त्रालयका अनुसार, कुवेत र अन्य खाडी मुलुकमा एनओसी प्रणालीको उल्लंघन गरी महिला श्रमिक पठाउने अवैध गिरोहहरू सक्रिय रहेको सूचना आधारमा निगरानी बढाइएको छ ।
प्रतिक्रिया