७ लाख घुससहित रंगेहात पक्राउ परे डिभिजन वन कार्यालयका वरिष्ठ अधिकृत

साझा प्रेस
0
Shares

कैलालीको डिभिजन वन कार्यालय, धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादव घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ लाख ३१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई सोमबार नियन्त्रणमा लिएको हो।

अख्तियारका प्रवक्ता तथा सहसचिव राजेन्द्रकुमार पौडेलका अनुसार, यादवले चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनबाट घाटगड्डी (काठको ढुवानी) गरिएको काठ सम्बन्धी बिमर्का र छोडपूर्जी दिने प्रक्रियामा सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो।
त्यसैको आधारमा अख्तियारको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीसँग पैसा लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको हो।

प्रवक्ता पौडेलले बताएअनुसार, “घटनासँग जोडिएका अन्य व्यक्ति वा कर्मचारीको पनि संलग्नता हुन सक्ने आशंका गरिएको छ। अनुसन्धान त्यसैअनुसार अगाडि बढाइँदैछ।”

अख्तियारको टोलीले सोमबार धनगढीस्थित डिभिजन वन कार्यालयमै छापा मारी यादवलाई नियन्त्रणमा लिएको हो। आयोगले उनीमाथि भ्रष्टाचार निवारण ऐनअनुसारको कारबाही अघि बढाउने तयारी गरिरहेको जनाएको छ।

घटनाले पुनः सरकारी कार्यालयहरूमा हुने घुस प्रकरणलाई उजागर गरिरहेको छ भने, अख्तियारले यस्ता कार्यविरुद्ध निरन्तर कारबाही जारी राख्ने जनाएको छ।