शिक्षा आन्दोलनका नाममा विद्यालय बन्द

७० लाख विद्यार्थीको पढाइ रोकियो

साझा प्रेस
50
Shares

शुक्रबार देशभर अधिकांश विद्यालयहरू बन्द भए। विद्यार्थीहरू बिहानै पढ्न गएका थिए, तर विद्यालय बन्द रहेकाले उनीहरू घर फर्किन बाध्य भए।

विद्यालय शिक्षा विधेयकको विरोधमा नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले गरेको एकदिने शैक्षिक हड्तालले देशभरको पठनपाठन प्रभावित बनायो। करिब ७० लाख विद्यार्थीको पढाइ एक दिनका लागि रोकियो।

अखिल क्रान्तिकारीले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने माग गर्दै बन्दको आह्वान गरेको हो। संगठनका अध्यक्ष वीरेन्द्र साहका अनुसार सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संविधानविपरीत भएकाले यसविरुद्ध आन्दोलन गरिएको हो।

तर यस आन्दोलनको शैलीप्रति आलोचना बढेको छ। अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्, “विद्यार्थीले पढ्न पाउने अधिकार हो, यसलाई रोकेर आन्दोलन गर्नु गलत हो।” उनका अनुसार विद्यालय बन्दले शिक्षा क्षेत्रमा झनै समस्या बढाएको छ।

शिक्षक संघ, निजी विद्यालय संगठन, र अभिभावकहरू सबैले विद्यालय बन्दको विकल्प खोजिनुपर्ने बताएका छन्। धेरैले शान्तिपूर्ण वार्ता र वैकल्पिक आन्दोलनका माध्यम अपनाउनुपर्ने सुझाव दिएका छन्

शिक्षा मन्त्रालयले पनि बन्दको आलोचना गर्दै छलफलबाट समस्या समाधान गर्न सबै पक्षलाई आग्रह गरेको छ।

शिक्षा सुधारको माग जायज भए पनि त्यसको माध्यम विद्यार्थीको पढाइ रोकिने बन्द होइन भन्ने आवाज बढ्दो छ। विद्यालय बन्दजस्तो पुरानो शैलीलाई अब त्यागेर संवाद, दबाब र जनमतमार्फत समाधान खोजिनुपर्ने माग उठिरहेको छ