शनिबार रातिदेखि नेपालभर व्यापक वर्षा हुने पूर्वानुमान गरिएको छ। भारतको उत्तरप्रदेश क्षेत्रमै सक्रिय रहेको मनसुनी रेखा उत्तरतर्फ सर्दै नेपालतिर प्रवेश गर्ने सम्भावना देखिएपछि आइतबार र सोमबारसम्म देशभर भारी वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सन्जिव अधिकारीका अनुसार शनिबार दिउँसोसम्म मौसम सामान्य रहने भए पनि रातिदेखि मनसुन सक्रिय हुँदै जानेछ। उनले भने, “उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय रेखा अब नेपालतिर झर्दै छ। त्यसले गर्दा देशभर वर्षा बढ्नेछ।”
यसअघि बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली भारतको उडिसा हुँदै नेपालतर्फ आउने अनुमान गरिए पनि त्यो प्रणाली भारतकै इलाहाबादतर्फ सरेको थियो। त्यसका कारण तराई-मधेशका केही जिल्लामा मात्रै हल्का वर्षा भएको थियो भने अन्य क्षेत्रमा बादल मात्र लागेर बितेको थियो।
तर हालको नयाँ प्रणाली तुलनात्मक रूपमा शक्तिशाली हुने अनुमान गरिएको छ। मौसमविद् अधिकारीका अनुसार, “हिजोआज मध्य र पश्चिमी नेपालमा केही वर्षा देखिए पनि प्रणालीको मूल प्रभाव नेपालभन्दा पर भएकाले ठूलो वर्षा हुन सकेन। तर अब प्रणाली नेपालमै केन्द्रित हुने देखिएकाले पानीको मात्रा धेरै हुनेछ।”
यसैबीच विभागको बाढी पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना रहेकाले काठमाडौँ उपत्यकासहित ३६ जिल्लामा बाढीको मध्यम जोखिम रहेको भन्दै ‘एलो अलर्ट’ जारी गरिसकेको छ।
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार शनिबार दिउँसोसम्म देशका केही भागमा हल्का वा मध्यम वर्षा हुन सक्नेछ। तर, शनिबार रातिबाट पूर्वी नेपालबाट वर्षा सुरु भई क्रमशः देशभर फैलिनेछ।
उनले भने, “विशेष गरी आइतबार र सोमबार भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउनु जरुरी छ। पहिरो, डुबान तथा बाढीको जोखिम हुने भएकाले पूर्वतयारी गर्नुपर्ने अवस्था छ।”
मौसमविद्हरूले अत्यावश्यक कामबाहेक अनावश्यक यात्रा नगर्न, नदी किनार तथा पहाडी भेगमा सचेत रहन आग्रह गरेका छन्। विभागले भनेको छ, “वर्षासम्बन्धी विवरणलाई निरन्तर अध्यावधिक गरिँदै जानेछ, त्यसैले सरकारी सूचनामार्फत समयमै जानकारी लिनुहोला।”
प्रतिक्रिया