नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच आज औपचारिक रुपमा पार्टी एकता घोषणा हुने भएको छ। राष्ट्रिय सभागृहमा एकता घोषणा सभा आयोजना गरिएको छ।
गत असार २७ गते दुई पक्षबीच एकता सहमति पत्रमा हस्ताक्षर भएको थियो। सहमतिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमले हस्ताक्षर गरेका थिए।
एकीकृत समाजवादीका केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार, आजको एकता घोषणा सभालाई अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र संयोजक बामदेव गौतमले सम्बोधन गर्नेछन्।
नेताहरूका अनुसार एकता पश्चात बन्ने पार्टीमा बामदेव गौतमलाई अध्यक्ष नेपाल र वरिष्ठ नेता खनालपछि तेस्रो वरियतामा राखिने सहमति भएको छ। उनी पार्टीको केन्द्रीय नेतृत्वको महत्वपूर्ण भूमिकामा रहनेछन्।
दुवै पार्टीबीच राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहेको भन्दै सैद्धान्तिक सहमतिको आधारमा एकता सम्भव भएको नेताहरूले बताएका छन्। उनीहरूका अनुसार, नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत र सुदृढ बनाउने उद्देश्यले यो एकता भएको हो।
बामदेव गौतमले २०७७ साल पुस २५ गते नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए। त्यसअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता सर्वोच्च अदालतको फैसलाबाट भंग भएपछि उनले नयाँ राजनीतिक यात्रा सुरु गरेका थिए। प्रारम्भमा एमालेमै फर्कन खोजेपनि अध्यक्ष केपी शर्मा ओलीको असहमतिका कारण गौतम एमालेमा फर्किन सकेनन्।
आजको एकता घोषणासँगै मध्यमार्गी वाम राजनीतिमा नयाँ संरचना बन्ने विश्वास गरिएको छ।
प्रतिक्रिया