बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित प्रेस्टिज कार्पेट इन्डिस्ट्रिजले आफ्नो उत्पादन तेस्रो मुलुकमा निर्यात गर्न थालेको छ। उद्योगले हालै सुक्खा बन्दरगाहमार्फत करिब ३० हजार वर्गमिटर गलैंचा संयुक्त अरब इमिरेट्स (UAE), अफ्रिकी मुलुक केन्या र संयुक्त राज्य अमेरिका लगायत तेस्रो मुलुकमा पठाएको हो ।
यसअघि भारतमा मात्र उत्पादन निर्यात गर्दै आएको यस उद्योगका युनाइटेड सञ्चालक अमन साहका अनुसार, लामो समयको तयारीपछि तेस्रो मुलुकमा पहिलोपटक निर्यात गर्न सफल भएको बताइएको छ। “करिब एक करोड रुपैयाँ बराबरको गलैंचा सुक्खा बन्दरगाहमार्फत तेस्रो मुलुकमा पठाइएको छ,” सञ्चालक साहले बताए। उनका अनुसार आगामी दिनमा निर्यातको परिमाण थप वृद्धि गर्ने लक्ष्य राखिएको छ।
जितपुर–सिमरा उपमहानगरपालिका–२३ मा अवस्थित यो उद्योगले अहिले १०० जना स्थानीय नागरिकलाई रोजगारी दिइरहेको छ। प्रेस्टिज कार्पेट इन्डिस्ट्रिजको वार्षिक उत्पादन क्षमता २० लाख वर्गमिटर रहेको छ भने यसले बजारमा ९०० रुपैयाँदेखि चार हजार रुपैयाँसम्म मूल्य पर्ने विभिन्न प्रकारका गलैंचा उत्पादन गर्दै आएको छ। पाँच वर्षअघि स्थापना भएको यो उद्योगमा हालसम्म ४० करोड रुपैयाँ बराबरको लगानी भइसकेको छ।
उद्योगले गलैंचाको लागि आवश्यक कच्चा पदार्थ विदेशबाट आयात गरी नेपालको बारा–पर्सा औद्योगिक क्षेत्रमा उत्पादन गरेर फेरि विदेशमै पुनः निर्यात गर्दै आएको छ। यसले नेपालमा उत्पादित वस्तुहरूले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने सम्भावनालाई थप बलियो बनाएको छ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले यो सफलतालाई उत्साहजनक उपलब्धिका रूपमा लिएका छन्। उनले भने, “विदेशबाट कच्चा पदार्थ ल्याएर यहाँ उत्पादन गरेर तेस्रो मुलुकमा निर्यात गर्नु खुसीको कुरा हो। यसले उद्योगमैत्री वातावरणको सम्भावना देखाएको छ।”
नेपालको औद्योगिक विकास क्रमशः निर्यातमुखी हुँदै गएको सन्दर्भमा प्रेस्टिज कार्पेट इन्डिस्ट्रिजको यो कदम घरेलु उद्योगको सम्भावना र क्षमतालाई उजागर गर्ने एउटा महत्त्वपूर्ण प्रयासको रूपमा हेरिएको छ। निर्यातको विस्तारले स्थानीय रोजगारी, विदेशी मुद्रा आम्दानी र औद्योगिक क्षेत्रमा लगानी प्रवाहलाई समेत सकारात्मक असर पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया