मुस्ताङ, असार २३ – उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ अन्तर्गत पर्ने चुमजुङ गाउँमाथिको उच्च लेकबाट आज साँझ ५ बजेदेखि भीषण लेदोसहितको बाढी आएको छ ।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले उक्त बाढीले स्थानीय संरचनामा ठूलो क्षति पुर्याउने जोखिम बढेको जानकारी दिए ।
उनका अनुसार चुमजुङ गाउँमाथिको उच्च भागबाट आएको लेदोसहितको बाढीका कारण हालसम्म गाउँपालिकाभित्रका चारभन्दा बढी अस्थायी पुल र कल्भर्ट बगाइसकेको छ । उनले भने, “यहाँको चुमजुङ गाउँमाथिबाट निकै ठूलो बाढी आइरहेको छ, क्षतिको सम्भावना उच्च देखिएको छ ।”
अध्यक्ष गुरुङले बाढीको सम्भावित प्रभावबारे प्रहरी, स्थानीय प्रशासन र अन्य निकायलाई जानकारी गराइसकेको बताए । उनका अनुसार, “हामी बाढीलाई नजिकबाट निगरानी गरिरहेका छौँ, मुस्ताङको तल्लो क्षेत्रमा पर्ने कालीगण्डकी तटीय बस्तीहरूलाई फोनमार्फत सर्तक रहन सूचना दिइएको छ ।”
उनले अझै बाढीको बहाव रोकिने संकेत नदेखिएको भन्दै तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन आवश्यक रहेको धारणा राखे ।
गुरुङले जानकारी गराएअनुसार चुमजुङ गाउँ नेपाल–चीन सीमावर्ती क्षेत्रमा पर्ने दुर्गम बस्ती हो, जहाँबाट अकल्पनीय रूपमा लेदोसहितको बाढी सुरु भएको हो ।
उनको भनाइमा, “बाढीले कालीगण्डकी आसपासका बस्तीमा पनि असर पुर्याउने सम्भावना छ, त्यसैले हामी सबैलाई चनाखो हुन आग्रह गरिरहेका छौँ ।”
प्रतिक्रिया