रसुवामा भीषण बाढी : मितेरी पुल बग्दा नेपाल–चीन सम्पर्क टुट्यो

साझा प्रेस
100
Shares

नेपाल–चीन सीमामा अवस्थित मितेरी पुल बगाएर गएको बाढीले दुई देशबीचको प्रमुख नाका पूर्णरूपमा अवरुद्ध बनाएको छ।

रसुवाको तिमुरे क्षेत्रमा आइतबार राति आएको भीषण बाढीका कारण मितेरी पुल पूर्णरूपमा बगाएको पुष्टि भएको छ। यससँगै दुई देशबीचको भौतिक सम्पर्क पूर्णतः विच्छेद भएको हो।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले दिएको जानकारी अनुसार बाढीले मितेरी पुल मात्र होइन, भन्सार यार्डमा राखिएका इलेक्ट्रिक सवारी साधन (EV)जलविद्युत आयोजनाका उपकरण तथा सामग्रीहरु समेत बगाएको छ।
उनले भने:

मितेरी पुल सबै बगाएको छ, चीनसँगको सम्पर्क टुटेको छ। भन्सार यार्डमा राखिएका सबै इभीहरु पनि बगाएको छ।

मानवीय क्षतिको यकिन विवरण आउन बाँकी भए पनि, पार्किङ क्षेत्रमा सुतिरहेका कामदारहरु बगेको हुनसक्ने आशंका गरिएको छ।
साथै, भन्सार प्रक्रियामा रोकिएका सवारी साधन, विविध सामग्री, र महत्त्वपूर्ण निर्माण सामानहरु पनि बगाएर लगिएको प्रारम्भिक विवरण छ।

प्रजिअ पौडेलका अनुसार, बाढीपछि घटनास्थलतर्फ पठाइएको प्रहरी टोली अहिले पनि बाढीको बीचमा फसेको छ।
पानीको सतह घट्न नसकेकाले उनीहरु सुरक्षित बाहिर आउन नसकेको जनाइएको छ।
नेपाली सेना र प्रहरीको संयुक्त समन्वयमा हेलिकप्टरमार्फत उद्धारको तयारी भइरहेको उनले बताए।

रसुवागढी नाका नेपाल–चीन व्यापारको सबैभन्दा प्रमुख मार्ग हो। बढ्दो आयात–निर्यात, वस्तु ओसारपसार तथा सवारी आवागमनले यो नाका अत्यन्त व्यस्त मानिन्छ। तर पुल बगेसँगै सम्पर्क विच्छेद हुँदा नेपालको उत्तरी व्यापारिक मार्ग पूर्णरूपमा ठप्प भएको छ।

यसको प्रत्यक्ष असर दुबै देशको व्यापार, पर्यटन र स्थानीय अर्थतन्त्रमा पर्ने अनुमान गरिएको छ। घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ।
सरकारको उच्च तहमा समन्वय जारी छ, र थप विवरणहरू संकलन भइरहेको छ। यथाशीघ्र पुनःनिर्माण र वैकल्पिक व्यवस्था खोज्ने प्रयास सुरू हुने जानकारी प्रशासनले दिएको छ।