रङ्गमञ्चमा लगातार सक्रिय रहँदै आएका खोटाङका रङ्गकर्मी मणि कुलुङ राईको कथा तथा निर्देशनमा तयार पारिएको नयाँ नेपाली कथानक नाटक ‘हराएको कुकुर’ आगामी असार २१ गते शनिबारदेखि मञ्चन हुने भएको छ।
नाटक मञ्चनको पूर्वसन्ध्यामा निर्देशक कुलुङले भने, “यो नाटक एउटा कुकुर हराएको सामान्य घटनाबाट सुरु हुन्छ तर क्रमशः यो कथाले राज्यसत्ता, अनुसन्धान प्रणाली र नागरिक आवाजमाथिको दमनको जटिल विमर्शमा डुबुल्की मार्छ।”
उनले थपे, “नाटक ‘हराएको कुकुर’ राज्यद्वारा हराइएको सत्यको प्रतीक हो। यसको उत्कर्षमा कुकुर भेटिन्छ तर मूल प्रश्नहरू अझै अनुत्तरित रहन्छन्। दर्शकले समाधान भेटे जस्तो लागे पनि त्यो समाधान नै पुनः प्रश्न हो।”
कथा र निर्देशन दुबै सम्हालेका कुलुङका अनुसार, नाटक हरेक दिन साँझ ४ः०० बजे मञ्चन हुनेछ भने शुक्रबार, शनिबार र आइतबार मध्याह्न १२ः०० बजे पनि विशेष प्रस्तुति हुनेछ। नाटक मण्डला थियटर, थापागाउँ, काठमाडौंमा साउन ४ गतेसम्म मञ्चन हुनेछ।
“पाँच वर्षदेखि काठमाडौंलाई कर्मभूमि बनाएर रंगमञ्चमा लागिरहेको छु,” उनले सुनाए, “र अहिले यो नाटक मेरो सोच, अनुभव र प्रतिरोधको एक गहिरो प्रस्तुति हो।”
नाटकको नाट्यरूपान्तरण रवीन तामाङले गरेका हुन्। मञ्चमा किरण नेपाली, स्मृति कल्मर, रेज्मी राई, इन्द्रेणी कुलुङ, रमा कुलुङ, अबिनास डिएम, मिना श्रेष्ठ, सुनिल बाहिङ राईलगायतको अभिनय रहनेछ।
कुलुङले भने, “हाम्रो टोली सानो हो तर गहिरो अनुभूति र प्रतिबद्धता बोकेको छ। हामी दर्शकसँग भावनात्मक संवाद गर्न चाहन्छौँ, दृश्यमार्फत चेतना भित्र पुर्याउन चाहन्छौँ।”
नेपथ्यमा अमिर ताम्राकार र नवीन काफ्लेले ध्वनि संयोजन, प्रकाश परिकल्पनामा उमेश तामाङ, र प्रकाश परिचालनमा सुनिल बाहिङ राई रहनेछन्। मञ्चन भूमिकामा दीपा मगराती, पुजन लिम्बू, आकाश मगर, अनुप न्यौपाने, प्रज्ञा विष्टलगायत कलाकार सहभागी छन्।
कुलुङको निर्देशनमा यो दोस्रो प्रमुख नाटक हो। यसअघि उनले निर्देशन गरेको ‘मृत्यु कुण्ड’ दर्शकमाझ प्रशंसा बटुल्न सफल भएको थियो। उनले ‘खुवालुङ’, ‘ताप’, ‘बिम्बको सपना’, ‘रामप्रसाद राई’ जस्ता चर्चित नाटकहरूमा अभिनय गरिसकेका छन्।
“म कलाकार हुँ, तर केवल मनोरञ्जन दिने उद्देश्यले होइन। म रंगमञ्चलाई प्रश्नको थलो मान्छु,” उनी भावुक हुँदै भन्छन्, “हराएको कुकुर हाम्रो समाज, राज्य, न्याय र जनताको सम्बन्धबारे उठाइएका ती प्रश्नहरूको प्रतिनिधि हो जुन अझैसम्म उत्तरविहीन छन्।”
मण्डला थियटरले नाटकको ट्रेलर सार्वजनिक गरिसकेको छ, र प्रारम्भिक प्रतिक्रिया सकारात्मक देखिएको छ। कुलुङको भनाइमा भर पर्ने हो भने — “यो नाटक केवल हेर्नकै लागि होइन, महसुस गर्न र आफैँसँग जिज्ञासा राख्नका लागि हो।”
प्रतिक्रिया