सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर ४ मा नयाँ प्रशासनिक भवनको उद्घाटन गरिएको छ।
शुक्रबार आयोजित एक विशेष समारोहमा गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुलुङले रिबन काटेर भवनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहअघि कुलुङ समुदायको परम्परा अनुसार पूजा समेत गरिएको थियो।
वडाध्यक्ष सरस्वती कुलुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालिका उपाध्यक्ष बिपना कुलुङ, विभिन्न वडाका वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्य, अभिभावक, राजनीतिक दलका प्रतिनिधि लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
त्यसै अवसरमा गुदेल माध्यमिक विद्यालयको आयोजना, वडा कार्यालयको समन्वय तथा नेपाल स्काउट कोसी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा सञ्चालित नेपाल स्काउट कार्यक्रमको समापन पनि गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक छलकराम राईका अनुसार गुदेल माविका १२ जना भन्दा बढी विद्यार्थीलाई इमानदारी, अनुशासन, र सकारात्मक सोच विकास गर्ने उद्देश्यसहित नेपाल स्काउट सम्बन्धी विशेष प्रशिक्षण दिइएको हो ।
तुमाउस्थित आधारभूत स्वास्थ्य केन्द्र र वडा कार्यालयको सहकार्यमा सञ्चालित स्वास्थ्य शिविरमा ३७ जनाको स्वास्थ्य परीक्षण पनि गरिएको वडा कार्यालयले जानकारी दिएको छ।
प्रतिक्रिया