लुक्लामा सुविधाजनक ब्याडमिन्टन हल

साझा प्रेस
0
Shares

कोशी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री बुद्धिकुमार राजभण्डारीले पर्यटकीय क्षेत्र लुक्लामा निर्मित पहिलो ब्याडमिन्टन कभर्ड हलको उद्घाटन गरेका छन् ।

आज शनिवार एक कार्यक्रमकाबीच सगरमाथाको प्रवेशद्वारको केन्द्र विन्दुको रूपमा रहेको तेन्जिङ हिलारी विमानस्थल नजिकै २ कोर्टको कभर्ड हलको सांसद राजभण्डारीले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राजभण्डारीले तत्कालीन गाउँपालिका अध्यक्ष स्वर्गीय ङिम दोर्जि शेर्पाको कभर्ड  हल निर्माण गर्ने सपना वर्तमान गाउँपालिका सरकारले पूरा गर्न सफल भएकोमा वर्तमान गाउँपालिका सरकार र नेतृत्वलाई धन्यवादका साथमा बधाई दिए । सांसद राजभण्डारीले ब्याडमिन्टन प्रतियोगिताले खुम्बुको अस्तित्व कायम गर्दै खुम्बुको विकासको सिडी बन्ने विश्वास व्यक्त गरे ।

उनले कोशी प्रदेशकै अग्लो स्थानमा कभर्ड हल निर्माण भएकोमा खुसी व्यक्त गर्दै खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट सहयोग गर्ने प्रतिबद्ध जनाए ।

यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले गाउँपालिकाको चौतर्फी विकासमा जोड दिँदै खेलकुदको क्षेत्रमा समेत विशेष प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् । अध्यक्ष शेर्पाले प्रदेश र गाउँपालिकाको संयुक्त लगानीमा कभर्ड हल निर्माण गरिएको बताउँदै खुम्बु क्षेत्रमा स्तरीय खेलाडी उत्पादन तथा प्रशिक्षणमा जोड दिँदै नवनिर्मित कभर्ड  हललाई हाइ अल्टिच्युड स्पोर्ट सेन्टरको रूपमा विकास गर्न सकिने उल्लेख गरे ।

गाउँपालिका उपाध्यक्ष टासी ल्हामु शेर्पाले ब्याडमिन्टन खेलप्रति रुचि भएका खेलाडीहरूले प्रतिकुल मौसममा समेत निर्बाध रूपमा खेल्न सक्ने बताउँदै राष्ट्रिय स्तरको खेलाडी उत्पादन हुने विश्वस्त रहेको बताए ।

हिमालयन क्लबको स्वामित्वमा रहेको जग्गामा कोशी प्रदेश र गाउँपालिकाको संयुक्त आर्थिक लगानीमा स्टिल स्ट्रक्चरबाट निर्मित ब्याडमिन्टन कभर्ड हल सञ्चालनका लागि हिमालयन क्लबलाई हस्तान्तरण गरिएको छ । हल सञ्चालन तथा दिगो व्यवस्थापनमा हिमालयन क्लबले भूमिका खेल्नेछ ।