सरकारले जेठ १५ गते संसद्मा प्रस्तुत गरेको विनियोजन विधेयक २०८२ माथि आज प्रतिनिधिसभाको बैठकमा १० वटा मन्त्रालयको बजेट प्रस्तावमाथि छलफल हुने भएको छ। संसद् सचिवालयले दिएको जानकारी अनुसार बैठक विहान ११ बजेका लागि तोकिएको छ।
आजको छलफलमा सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, खानेपानी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका बजेट प्रस्तावहरू समावेश हुनेछन्।
त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पनि बजेट प्रस्तावमाथि आजै छलफल हुने कार्यसूची छ।
यसै क्रममा विनियोजन विधेयक २०८२ अन्तर्गत विभिन्न मन्त्रालयको खर्च कटौती गर्न सांसदहरूले प्रस्तावहरू पेस गर्ने भएका छन्।
सांसद डा. अमरेशकुमार सिंह, प्रेम सुवाल, अमनलाल मोदी, प्रभु साह, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत सुवेदी, उर्मिला माझी, हितबहादुर तामाङ, अम्मरबहादुर थापा, छिरिङ ल्हामुलामा तामाङ, नारायणी शर्मा र चित्रबहादुर केसी लगायतले विभिन्न मन्त्रालयको खर्च घटाइ रू एक वा १०० कायम गरियोस् भन्ने प्रस्तावहरू प्रस्तुत गर्नेछन्।
यी प्रस्तावमार्फत सांसदहरूले बजेटमा असहमति जनाउँदै खर्च नियन्त्रण, पारदर्शिता र उत्तरदायित्वको माग गरेका छन्।
प्रतिक्रिया