निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रियसभा र स्थानीय तहका रिक्त पदहरूमा निर्वाचनको विषयमा परामर्श गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूको टोलीले प्रधानमन्त्री ओलीलाई भेटी कात्तिकको दोस्रो साताभित्र प्रतिनिधिसभाको रुपन्देही–३ र गण्डकी प्रदेशसभाको मनाङ–१ (२) क्षेत्रका लागि उपनिर्वाचन गर्ने प्रस्तावबारे जानकारी गराएको हो।
साथै, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानका लागि पनि निर्वाचनको तयारी थालिएको आयोगले जनाएको छ । आयोगले उपनिर्वाचनको मिति यही असार १६ गतेभित्र तोक्ने तयारी गरिरहेको जानकारी दिँदै स्थानीय तहका १३ वटा वडाध्यक्ष पदसमेत रिक्त रहेको बताएको छ।प्रधानमन्त्री ओलीले निर्वाचनका लागि आयोगले गरेको तयारीको प्रशंसा गर्दै नेपाल सरकारबाट आवश्यक सबै सहजीकरण हुने विश्वास दिलाए। प्रधानमन्त्रीले २०८४ को निर्वाचनलाई लक्षित गरी पूर्वतयारी थाल्न आयोगलाई सुझाव समेत दिएकाछन् ।
भेटमा आयुक्तहरू डा. जानकीकुमारी तुलाधार, सगुनशमशेर जबरा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्च अधिकारीहरू पनि सहभागी थिए ।
प्रतिक्रिया