प्रतिनिधिसभामा आज ‘संघीय निजामती सेवा विधेयक’ पारित हुने सम्भावना

नागरिकता संशोधन विधेयकको प्रतिवेदन पनि पेस हुँदै

साझा प्रेस
50
Shares
File Photo

संघीय संसद्को प्रतिनिधिसभा बैठक आज दिउँसो १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकको कार्यसूचीमा ‘संघीय निजामती सेवा विधेयक, २०८२’ पारित गर्ने कार्यसूची तय गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव संसद्‌मा पेस गर्नेछन्। यो विधेयक लामो समयदेखि संसद्मा अड्किएको थियो, जसलाई आजको बैठकबाट पारित गरिने सम्भावना उच्च छ।

संघीय निजामती सेवा विधेयक: लामो प्रतीक्षा पश्चात् निर्णायक चरणमा

संघीय निजामती सेवा विधेयक नेपालमा संघीयता कार्यान्वयन गर्न अपरिहार्य कानुनी दस्तावेज मानिन्छ। विधेयकले केन्द्र, प्रदेश र स्थानीय तहका कर्मचारी व्यवस्थापन तथा सेवाशर्त सम्बन्धी स्पष्ट व्यवस्था गर्नेछ।

सरकारले राज्यको तीन तहमा कार्यरत निजामती सेवाका संरचना, भर्ती प्रक्रिया, सेवा अवधि, सरुवा, प्रोन्नति, अनुशासन र अवकाशजस्ता व्यवस्थालाई स्पष्ट पार्ने उद्देश्यसहित यो विधेयक संसद्मा प्रस्तुत गरेको हो।

नागरिकता (दोस्रो संशोधन) विधेयकको प्रतिवेदन पेस हुँदै

आजको बैठकमा अर्काे महत्त्वपूर्ण विधेयक ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२’ सम्बन्धी समितिको प्रतिवेदन पनि संसद्मा पेस हुने भएको छ। सो प्रतिवेदन राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पेस गर्ने कार्यसूची तय गरिएको छ।

यसअघि फागुन ४ र ५ गते बसेको बैठकमा नागरिकता विधेयकमाथि प्रारम्भिक छलफल भइसकेको थियो। संशोधन विधेयकमा आमाको नामबाट नागरिकता दिने प्रक्रिया सरल बनाउने, एकल आमाबाट जन्मेका सन्तानलाई नागरिकताको अधिकार सुनिश्चित गर्ने जस्ता विषय समेटिएका छन्।

सरकार पक्षको तयारी अनुसार, आजै संघीय निजामती सेवा विधेयक दफावार छलफल गरी पारित गरिनेछ। त्यस्तै, नागरिकता विधेयकमाथि प्रतिवेदन पेस भएसँगै आगामी बैठकमा दफावार छलफल गरिने अपेक्षा गरिएको छ।