देशका अधिकांश भूभागमा मनसुनी र स्थानीय वायुले असर पुर्याइरहेको छ। हाल कोशी, मधेस, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पूर्वी भागमा सक्रिय मनसुनी वायु र पश्चिम क्षेत्रतर्फ पश्चिमी तथा स्थानीय वायुको प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। साथै, सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने चेतावनी दिइएको छ।
हिमाली क्षेत्रमा हिमपातको सम्भावना
उच्चपहाडी तथा हिमाली क्षेत्रहरूमा वर्षासँगै हिमपातको सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ। बाँकी प्रदेशका उच्च भूभागहरूमा पनि एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने बताइएको छ।
महाशाखाका अनुसार आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। विशेषगरी कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ।
जल तथा मौसम विभागले नागरिकहरूलाई वर्षा र हिमपातका कारण पहिरो, बाढी र सडक अवरुद्ध हुनसक्ने जोखिमप्रति सचेत रहन आग्रह गरेको छ।
प्रतिक्रिया