काठमाडौँ — अनेरास्ववियुको २४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि सहमतिको प्रयास असफल भएपछि आज निर्वाचन हुने भएको छ।
पार्टी केन्द्रीय नेतृत्वको निर्देशनमा सहमति खोज्ने प्रयास गरिएको भए पनि अध्यक्षदेखि विभिन्न पदमा आकांक्षीहरूबीच अन्तिम घडीसम्म पनि सहमति नजुटेपछि निर्वाचनको बाटो खोलिएको हो।
अध्यक्षमा दुई मुख्य प्रतिस्पर्धी
अध्यक्ष पदका लागि डा. सुजन कडरिया र प्रकाश पौडेलबीच प्रतिस्पर्धा हुँदैछ। यी दुईमध्ये एकले आगामी चार वर्षका लागि संगठनको नेतृत्व सम्हाल्नेछन्। संगठनको भविष्यको दिशानिर्देशका लागि यो प्रतिस्पर्धा निर्णायक मानिएको छ।
उपाध्यक्षदेखि सचिवसम्मको चर्को प्रतिस्पर्धा
- खुला उपाध्यक्ष पदमा भरत धामी लिपुलेक, राजकुमार ढकाल, विकास श्रेष्ठ, धमेन्द्र केसी र रोहित बम प्रतिस्पर्धी छन्।
- महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी, आरती भट्टराई, सुनिता धिताल र भवानी बजगाईंले उम्मेदवारी दिएका छन्।
- महासचिवमा दीपक धामी, आरके रोमस र सुनिल कँडेलबीच प्रतिस्पर्धा छ।
- उपमहासचिवमा कमल जोशी, अमर शाही र प्रेमिका शाही मैदानमा छन्।
- सचिव पदमा ४० जनाभन्दा बढी उम्मेदवार छन्, जसमा रक्षा बम, मनोज राई, अनुप लामिछाने, रेखा न्यौपाने, धर्मराज तिमिल्सेना लगायतको उम्मेदवारी उल्लेखनीय छ।
निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता हिजो साँझ सम्पन्न भएको हाे । मतदान आज बिहान १० बजेबाट सुरु भई बेलुकी ५ बजेसम्म चल्नेछ। अन्तिम मतदाता नामावली सार्वजनिक हुन बाँकी रहे पनि निर्वाचन प्रक्रिया निर्धारित तालिकाअनुसार अगाडि बढ्ने जनाइएकाे छ।
देशभरबाट आएका करिब १०८० प्रतिनिधिले नेतृत्व चयनका लागि मतदान गर्दैछन्। महाधिवेशनले अनेरास्ववियुको भविष्यको नेतृत्व मात्र होइन, एमालेभित्रको विद्यार्थी राजनीति र भावी सम्भावित नेताहरूको उज्यालो वा ओझेलको बाटोसमेत निर्धारण गर्नेछ।
अनेरास्ववियुको नेतृत्वका लागि आजको मतदान केवल संगठनको आन्तरिक प्रक्रिया मात्र नभई देशको विद्यार्थी राजनीतिमा भावी आधार तय गर्ने राजनीतिक अभ्यास बन्नेछ। निर्वाचनको उत्साहपूर्ण प्रतिस्पर्धाले संगठनको लोकतान्त्रिक अभ्यासलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया