लक्ष्मण सुनार निर्देशित बहुप्रतिक्षित नेपाली फिल्म ‘कल्ली’ फेरि एकपटक मिति सरेको छ। पहिले कात्तिक २१ गते रिलिज गर्ने तयारीमा रहेको यो फिल्म अब फागुन १ गते प्रदर्शन हुने भएको छ।
सुरुवातमा २०७९ चैत २९ गतेलाई लक्षित गर्दै घोषणा गरिए पनि छायांकन ढिलाइका कारण मिति पटक–पटक पर सारिएको हो।
नयाँ प्रदर्शन मितिसँगै आइतबार सार्वजनिक गरिएको दुई नयाँ पोस्टरले फिल्मप्रतिको उत्सुकता अझ बढाएको छ। पोस्टरमा प्रमुख कलाकारहरूलाई फरक र गहिरो लुक्समा प्रस्तुत गरिएको छ । विशेषतः सौगात मल्लको अवतारहरूले फिल्ममा उनको चरित्र असाधारण हुने संकेत गर्छ।
सौगात मल्लको दुई ध्रुवीय रूप
पहिलो पोस्टरमा सौगात मल्ल क्रुद्ध मुद्रामा, हातमा रगत लागेको भाला बोकेर प्रस्तुत छन्। पछाडिबाट पाटे बाघको उपस्थिति र उनको आँखाको आक्रोशले पौराणिक/मिथकीय कथाको आभास दिलाउँछ।
दोस्रो पोस्टरमा भने उनी पूरै भिन्न अवतारमा देखिएका छन्—फेटा बाँधिएको टाउको, गहना र माला लगाएको गला, महिलाको जस्तो बुलाकी र निधारमा रातो टीका, र जिब्रो निकालेर प्रस्तुत गरिएको हाउभाउले उनी एक रहस्यमयी पात्रको रूपमा देखिन्छन्।
अन्य कलाकारको प्रस्तुतिमा विविधता
सौगातसँगै दोस्रो पोस्टरमा बेनिशा हमाल, उत्तम प्रधान, नाजिर हुसेन, अर्पण थापा र सुलक्षण भारती पनि देखिएका छन्। बेनिशा कर्णाली भेगकी महिला पात्रको रूपमा प्रस्तुत भएकी छन्, जसको अनुहारमा पीडाको भाव स्पष्ट देखिन्छ। उत्तम प्रधान बन्दुक ताकिरहेका छन्, जबकि नाजिर र अर्पण गम्भीर मुद्रामा प्रस्तुत छन्। यी सबै लुक्सले फिल्ममा बलियो चरित्रचित्रण हुने संकेत गर्छ।
कथावस्तु र निर्माण टिम
किरण नेपालीको प्रस्तुति रहेको ‘कल्ली’ मा वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ लगायतका कलाकारको पनि अभिनय रहनेछ। छायांकन निसाल पौडेलको रहेको छ भने पटकथा महेश दवाडीले लेखेका हुन्।
फिल्म “मानिसको मनमा लोभ पलाएपछि उसको जीवन कसरी बदलिन्छ र के–के परिस्थिति आउँछन्” भन्ने विषयमा आधारित छ। पात्रहरूको बहुस्तरीय प्रस्तुति, पौराणिक टोन र सांस्कृतिक प्रसङ्गहरूले ‘कल्ली’ लाई फरक स्वादको नेपाली फिल्मको रूपमा चित्रण गर्न खोजिएको देखिन्छ।
प्रतिक्रिया