तामाङ माओवादी केन्द्र खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्षमा निर्वाचित

साझा प्रेस
200
Shares

नेकपा (माओवादी केन्द्र) खुम्बु पासाङल्हामु गाउँपालिका समितिको अध्यक्षमा धनकुमार तामाङ निर्वाचित भएका छन् । सोमबार सम्पन्न दोस्रो गाउँ सम्मेलनबाट उनले नेतृत्व पाएका हुन् । सम्मेलनबाट अध्यक्षसहित २१ सदस्यीय नयाँ गाउँपालिका समिति चयन गरिएको छ ।

माओवादी प्रचारप्रसार विभाग प्रमुख भोजराज कार्कीले जानकारी दिए अनुसार उपाध्यक्षमा फुनुरु शेर्पा र आङ सोना शेर्पा, महिला उपाध्यक्षमा एन्जल राई, सचिवमा दाकिन्जो शेर्पा, सहसचिवमा प्रकाश राई र सन्तोष तामाङ तथा कोषाध्यक्षमा दुर्जो बहादुर राई निर्वाचित भएका छन् । गाउँपालिका इन्चार्जको जिम्मेवारी तिलक श्रेष्ठले पाएका छन्।

सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज हेमकुमार राई ‘सुरवीर’ प्रमुख अतिथि थिए। सम्मेलनकै क्रममा विभिन्न पार्टी परित्याग गरी १७ जना नेता तथा कार्यकर्ताले माओवादीमा प्रवेश गरेका छन्। उनीहरूलाई जिल्ला इन्चार्ज र प्रदेश सदस्य नाम्गेल शेर्पाले स्वागत गरेकाकाे कार्कीले जानकारी दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता सुरवीरले देशमा सुशासन र जनअपेक्षाअनुसारको विकासका लागि माओवादी पार्टीको विकल्प नरहेको दाबी गरे।

जिल्ला संयोजक नाम्गेल शेर्पाले सोलुखुम्बुलगायत देशभर माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरूले देखाएको विकासले जनआकर्षण बढेको उल्लेख गरे। “अबको निर्वाचनमा माओवादी उम्मेदवारहरूले धेरै स्थानमा जित हासिल गर्ने आधार देखिन्छ,” उनी बताए।