अनेरास्ववियु महाधिवेशन

अनेरास्ववियु नेतृत्व चयनमा निर्णायक छलफल आज

नयाँ विधान पारित

साझा प्रेस
300
Shares

नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औँ राष्ट्रिय महाधिवेशन कीर्तिपुर, काठमाडौँमा जारी छ।

दोस्रो दिनको बन्द सत्रमा संगठनको नयाँ विधान पारित हुनुका साथै संरचनागत रूपान्तरण र नेतृत्व चयनको तयारीमा महत्त्वपूर्ण छलफलहरू भएका छन्।

नयाँ विधानका प्रमुख बुँदाहरू:

  • केन्द्रीय समिति १५१ सदस्यीय हुने।
  • ३२ वर्ष उमेर हद कायम गरिने।
  • ९ पदाधिकारी रहने।
  • ४९ सदस्यीय सचिवालय गठन गरिने।
  • लेखा, निर्वाचन, अनुशासनसँगै नयाँ ‘नीति अनुसन्धान आयोग’ थप गर्दै चार आयोग व्यवस्था गरिने।
  • प्रत्यक्ष निर्वाचनमार्फत पदाधिकारी, सचिवालय र समावेशी सदस्य चयन; अन्य सदस्यहरू प्रदेशगत निर्वाचनबाट।

नेतृत्व चयनमा निर्णायक मोड

महाधिवेशनको निर्णायक छलफल आज हुने भएको छ।
अध्यक्ष मण्डलले प्रतिनिधिहरूलाई बिहान महाधिवेशन हलमा उपस्थित हुन निर्देशन दिएको छ।

एक सदस्यका अनुसार,

“हामी सहमतिका लागि अन्तिम प्रयास गर्छौं, सहमति भएन भने निर्वाचन प्रक्रियामा जान्छौं। सर्वसम्मतिको प्रयास जारी राखिन्छ।”

अध्यक्ष मण्डलमा माधव ढुंगेल, किशोर विक्रम मल्ल, नवीना लामा, ऐन महर, सुनिता बराल, समिक बडाल छन् भने संयोजकको भूमिका भानुभक्त ढकालले निर्वाह गरिरहेका छन्।

अध्यक्ष पदका पाँच आकांक्षी:
  1. प्रकाश पौडेल
  2. दीपक धामी
  3. डा. सुजन कडरिया
  4. आरती भट्टराई
  5. अञ्जना सिवाकोटी

हाल चर्चामा रहेका पौडेल, धामी र कडरिया अग्रपंक्तिमा छन्। एमाले नेतृत्वले सुजन कडरियालाई अध्यक्ष बनाउने प्रस्ताव अघि सारेको चर्चा छ। पार्टीले बाँकी आकांक्षीहरूलाई सम्मानजनक भूमिकासहित सहमतिमा ल्याउने योजना बनाएको स्रोत बताउँछ।

ई–भोटिङ तयारी

यदि सहमति जुटेन भने इलेक्ट्रोनिक मतदान (ई–भोटिङ) प्रणालीमार्फत निर्वाचन प्रक्रिया अघि बढाइनेछ।
महाधिवेशन सचिवालयले प्राविधिक तयारी पूरा गरिसकेको जनाएको छ।