थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष राई सम्मानित

साझा प्रेस
250
Shares

सोलुखुम्बुस्थित थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईलाई स्थानीय कृषि उपजको बजारीकरणमा पु-याएको विशिष्ट योगदानका लागि सम्मानित गरिएको छ।

काठमाडौँ दरबारमार्गको ओरियण्ट क्याफेमा आयोजित विशेष कार्यक्रममार्फत कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले राईलाई सम्मान पत्र प्रदान गरेका हुन् ।मुख्य समाचार विवरण:रैथाने एग्री प्रडक्टस् नेपालद्वारा सञ्चालनमा रहेको रैथाने हाटबजारको एक सय हप्ता पुगेको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा राईलाई सम्मान गरिएको हो।

स्थानीय कृषि उत्पादन, परम्परागत सीप र प्रविधिबाट निर्मित वस्तुहरूको संरक्षण तथा प्रवर्द्धनमा उनले खेलेको भूमिकाको उच्च प्रशंसा गरिएको थियो।

गाउँपालिकामा उत्पादन हुने कृषि उपजलाई बजारीकरण गर्न अध्यक्ष राईको नेतृत्वमा सञ्चालनमा ल्याइएको “कृषि एम्बुलेन्स” कार्यक्रममार्फत रैथाने हाटबजारसम्म उत्पादन पु-याउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

अध्यक्ष राईलाई प्रदान गरिएको सम्मानपत्रमा भनिएको छ, “थुलुङ दुधकोशीमा उत्पादन हुने कृषि सामग्री तथा परम्परागत सीपबाट निर्मित वस्तुहरूको संरक्षण र व्यावसायिक विस्तारका लागि उहाँको योगदान भविष्यमा पनि अमूल्य रहने विश्वास गरिएको छ।”

कार्यक्रममा कृषि मन्त्री अधिकारी, पूर्वमन्त्री तथा सांसद शेरबहादुर तामाङ, मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठ, खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल लगायतले परम्परागत उत्पादनको महत्त्व र बजार विस्तारमा स्थानीय तहको भूमिका विषयमा मन्तव्य दिएका थिए ।

मन्त्री अधिकारीले नेपाली मौलिक बाली, विषादीरहित कृषि प्रणाली र परम्परागत सीपको प्रवर्द्धनका लागि सरकारले आगामी बजेटमार्फत विशेष कार्यक्रम अघि बढाउने जानकारी पनि दिए। उनले भने, “अब हामी आत्मनिर्भर बन्न अत्यावश्यक खाद्य वस्तुको आयात प्रतिस्थापनमा केन्द्रित हुनुपर्छ।”