प्रधानमन्त्री ओलीको शुभकामना : विश्वकप लिगमा नेपालको जितमा राष्ट्रगौरवको अनुभूति


प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ अन्तर्गत भइरहेको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपालले लगातार दुई खेलमा ऐतिहासिक जित दर्ता गरेपछि सम्पूर्ण खेलाडी, प्रशिक्षक टोली तथा नेपाली क्रिकेट प्रेमीहरूलाई बधाई दिएका छन्।

प्रधानमन्त्री ओलीले गएराति स्कटल्यान्डको घरेलु मैदानमा भएको दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै नेपालले उत्कृष्ट प्रदर्शन गरेको भन्दै सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका हुन्। वहाँले खेलाडीहरूको संघर्ष, समर्पण र नेपालप्रतिको गौरवपूर्ण योगदानको उच्च मूल्याङ्कन गर्दै देशलाई खुसी दिने यो सफलताका लागि धन्यवादसमेत दिए।

“लगातार दोस्रो जितको साथ नेपाली क्रिकेटले फेरि एकपटक विश्व क्रिकेटमा आफ्नो उपस्थिति मजबुत बनाएको छ,” बिज्ञप्तीमा भनिएकाे छ, “खेलाडीहरूको साहस, प्रतिबद्धता र खेलप्रतिको समर्पण प्रशंसनीय छ। म सम्पूर्ण नेपाली क्रिकेट टिमलाई यो शानदार प्रदर्शनको लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।”

नेपालले यसअघि भएको पहिलो खेलमा आयोजक टोली स्कटल्यान्डलाई रोमाञ्चक अन्त्यमा १ विकेटले हराउँदै प्रतियोगिताको सशक्त सुरुवात गरेको थियो। दोस्रो खेलमा, बलिङ र ब्याटिङ दुवै विभागमा सन्तुलित प्रदर्शन गर्दै नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको हो।

यो जीतले नेपाललाई प्रतियोगितामा अग्रता कायम गर्न मद्दत गरेको छ भने आगामी खेलहरूमा थप आत्मविश्वासका साथ उत्रिन प्रेरणा दिएको छ।

प्रधानमन्त्री ओलीले यस्ता विजयहरूले राष्ट्रिय एकता, उत्साह र गौरव बढाउने उल्लेख गर्दै भविष्यका खेलहरूमा पनि खेलाडीहरूलाई सफलताको शुभकामना दिएका छन्।