संघीय संसदको दुवै सदन “प्रतिनिधि सभा र राष्ट्रिय सभा ” को बैठक आज दिउँसो बस्दैछन्। एकातर्फ सरकार आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल अघि बढाउने तयारीमा छ, अर्कोतर्फ विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै कडा अडानमा उभिएका छन्।
- प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे, राष्ट्रिय सभाको बैठक सवा १ बजे बस्दै
- अर्थमन्त्री विष्णु पौडेल बजेट अनुमानमाथि सामान्य छलफलको प्रस्ताव पेस गर्दै
- ‘संघीय निजामति सेवा विधेयक’सम्बन्धी प्रतिवेदन समितिबाट पेस हुने
- भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि विपक्षीको दबाब कायमै
- मंगलबारको बैठक दलहरूबीच सहमति नजुट्दा स्थगित
आज संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ। दिउँसो १ बजे प्रतिनिधि सभा र सवा १ बजे राष्ट्रिय सभाको बैठक तय भएको हो।
प्रतिनिधि सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व तथा खर्चको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। यस्तै, सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन संसदमा पेश गर्ने छन्।
न्यूनमतमा बजेटमाथि छलफल अघि बढाउन सत्तापक्ष इच्छुक देखिए पनि विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकको राजीनामाको मागमा कडा अडानमा छन्। भिजिट भिसा प्रकरणमा उनीमाथि छानबिनको माग गर्दै आएका विपक्षीहरू सत्तापक्ष सहमत नभएसम्म सदन चल्न नदिने रणनीतिमा छन्।
मंगलबार बोलाइएको बैठक विपक्षीको अवरोधका कारण स्थगित भएको थियो। हाल विपक्षीहरू २०६४ यताका गृहमन्त्रीहरू सबैमाथि छानबिन हुनुपर्ने अडानमा छन्। उनीहरूको माग सत्तापक्षले अस्वीकार गर्दै गृहमन्त्रीलाई संसदमा आफ्ना पक्ष स्पष्ट गर्न दिनुपर्ने बताउँदै आएको छ।
आजको बैठक बजेट छलफलले गति लिन्छ वा भिजिट भिसा प्रकरणकै कारण फेरि अवरोध हुन्छ — त्यो सत्ता–विपक्षबीचको वार्ताको निष्कर्षमा निर्भर रहनेछ।
प्रतिक्रिया