भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा, विगतका गृहमन्त्रीहरू समेतको समावेशसहितको छानबिन समिति र प्रधानमन्त्रीको संसदमा स्पष्ट प्रतिबद्धता—यी तीन मुख्य बुँदामा विपक्षी दलहरू एकमत भएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको विपक्षी दलहरूको बैठकले गृहमन्त्रीले छानबिन प्रक्रिया निष्पक्ष हुन दिन राजीनामा दिनुपर्ने अडान यथावत् राखेको छ। बैठकपछि रास्वपाका प्रवक्ता मनिष झाले भने, “विगतका गृहमन्त्रीहरूको कार्यकालमा भएका भिजिट भिसा प्रकरणको समेत छानबिन हुने गरी उच्चस्तरीय समिति बनाउने निष्कर्षमा बैठक पुगेको छ।”
उनले अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले वर्तमान गृहमन्त्रीले अनुसन्धान सम्पन्न नहुँदासम्मका लागि राजीनामा दिनुपर्ने बताए। साथै, प्रधानमन्त्रीले संसदमा उपस्थित भएर विषयप्रति सरकारको जिम्मेवारी स्वीकार गर्दै प्रतिवद्धता जनाउनुपर्ने माग पनि बैठकले राखेको छ।
तीन बुँदाको निष्कर्ष लिएर प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरू सभामुख देवराज घिमिरेसँगको छलफलमा सहभागी हुन पुगेका छन्।
प्रतिक्रिया