खोटाङको सदरमुकाम दिक्तेल बजारमा अकबरे खुर्सानीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। तीव्र माग र सीमित आपूर्तिका कारण यो खुर्सानी प्रतिकिलो रु १,००० मा बिक्री भइरहेको स्थानीय व्यापारीहरूले बताएका छन्।
कृषकबाट ७००–८०० मा खरिद, बजारमा १,००० मा बिक्री
दिक्तेलका खुद्रा व्यापारीहरूले गाउँका कृषकहरूसँग प्रतिकिलो ७०० देखि ८०० रुपैयाँमा अकबरे खरिद गरी उपभोक्तालाई एक हजार रुपैयाँमा बिक्री गर्दै आएका छन्। मूल्य महँगो भए पनि स्वादिलो र औषधीय गुणले भरिपूर्ण भएको कारण उपभोक्ताहरू खरिद गर्न आकर्षित छन्।
रूपाकोट मझुवागढी–४, खाल्लेका कृषक इन्द्रबहादुर श्रेष्ठले बेमौसमी अकबरे खुर्सानी खेतीबाट हाल साप्ताहिक १४–१५ किलो उत्पादन भइरहेको जानकारी दिए। “यो वर्ष मैले १,२०० बोट बिरुवा रोपेको छु। माग बढ्दो छ, विस्तार गर्ने योजना बनाइरहेको छु,” श्रेष्ठले भने।
गाउँ–गाउँको उत्पादन दिक्तेल बजारमा
खाल्ले, बुइपा, बाम्राङ, लफ्याङ, सोल्मा, नेर्पा र दोर्पाबाट आएका तरकारी तथा अकबरे खुर्सानीहरूले दिक्तेल बजारको आपूर्ति धानेका छन्। तर, व्यावसायिक रूपमा खेती गर्ने कृषक भने अझै सीमित छन्।
तरकारी–फलफूलको मूल्यमा व्यापक वृद्धि
दिक्तेलमा अकबरे मात्र होइन, अन्य तरकारी र फलफूलको मूल्य पनि अत्यधिक बढेको छ। हाल बजारमा उपलब्ध केही तरकारीको मूल्य यस्तो छ:
- गोलभेँडा : रु १५० प्रति किलो
- कन्य च्याउ : रु ३०० प्रति किलो
- प्याज : रु ९० प्रति किलो
- आलु : रु ६० प्रति किलो
- बन्दागोभी : रु ४० प्रति किलो
- काउली : रु १५० प्रति किलो
“अनुदान नेताकै नजिकका व्यक्तिलाई, वास्तविक कृषक बेवास्ता”
स्थानीय अगुवा कृषक गङ्गाबहादुर विश्वकर्माका अनुसार सरकारले उपलब्ध गराउने कृषि अनुदान नेताका नजिकका व्यक्ति वा खेती नगर्ने समूहले लिने गरेका कारण मूल्य नियन्त्रण हुन सकेको छैन।
“वास्तविक कृषकको पहुँच अनुदानमा छैन, मूल्य अझै बढ्ने सम्भावना छ,” उनले चिन्ता व्यक्त गरे।
विषादी परीक्षण विनै तराईका तरकारी बिक्री
स्थानीय उत्पादनले माग धान्न नसक्दा तराईबाट ल्याइएका सस्ता तरकारी तथा फलफूल बजारमा बाढीझैँ फैलिएको छ। तर, ती तरकारीहरू विषादी परीक्षण बिना खुलेआम बिक्री भइरहेका छन्, जसप्रति सम्बन्धित निकाय मौन रहेको उपभोक्ताहरूको आरोप छ।
प्रतिक्रिया