नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र कुनै एक दलको होइन, परिवर्तनकारी राजनीतिक दलहरू र जनताको संयुक्त संघर्षको परिणाम भएको स्पष्ट पारेका छन् ।
आज काठमाडौंमा आयोजित योङ कम्युनिस्ट लिग (वाइसिएल) को तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजावादी समूहले जनतामा भ्रम फैलाउने प्रयास गरिरहेको आरोप लगाए।
उनले भने,
“गणतन्त्र माओवादीले मात्र ल्याएको हो भनेर प्रचार गरिँदैछ। यो सुन्दा मिठो लाग्न सक्छ, तर त्यसको उद्देश्य गणतन्त्रवादी शक्तिलाई फुटाउन खोज्नु हो। यसको सशक्त प्रतिवाद गर्नुपर्छ।“
🔹 सबै राजनीतिक शक्तिको भूमिका
अध्यक्ष दाहालले गणतन्त्र स्थापनामा माओवादी जनयुद्धको महत्वपूर्ण भूमिका रहेको स्वीकार गर्दै पनि, त्यसबेला नेपाली कांग्रेस, नेकपा एमाले र आम जनताको सहकार्यले मात्र गणतन्त्र सम्भव भएको स्मरण गराए।
उनले जोड दिए,
“गणतन्त्र नेपालको साझा उपलब्धि हो। यसको संस्थागत र वैचारिक रक्षा गर्न सक्ने नेतृत्व माओवादीसँग छ।“
🔹 वाइसिएल युवाको अग्रभूमिमा : रामप्रसाद सापकोटा
सम्मेलनमा वाइसिएलका इन्चार्ज रामप्रसाद सापकोटाले गणतन्त्र स्थापना गर्ने लडाइँमा युवाहरू अग्रपङ्क्तिमा रहेको र आगामी दिनमा यसको रक्षा र सुदृढीकरणका लागि पनि वाइसिएल अग्रणी भूमिकामा रहने बताए।
प्रतिक्रिया