राजावादी समूहद्वारा उपत्यका बन्दको घोषणा

आन्दोलनको स्वरूप परिवर्तन

साझा प्रेस
0
Shares

काठमाडौं, राजसंस्था पुनःस्थापनाको मागसहित आन्दोलनरत राजावादी समूहले भोलि सोमबार जेठ १९ गते काठमाडौं उपत्यकामा बन्दको घोषणा गरेका छन्।

राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारी दमनको विरोधस्वरूप उपत्यका बन्द गर्ने जानकारी दिएका हुन्।

सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,

“सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं । यसै क्रममा भोलि जेठ १९ गते उपत्यका बन्दको घोषणा गरेका छौं।”

संयोजक सुवेदीले आन्दोलनमा संलग्न सम्पूर्ण सहभागीहरूलाई आ–आफ्नो टोल र चोकमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका छन्। आन्दोलनलाई जनस्तरमा फैलाउने रणनीति अनुरूप यो उपाय अपनाइएको जनाइएको छ।

आइतबार नारायणचौरमा आयोजित राजसंस्था पक्षधर प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका सांसद दीपक सिंहसहित अन्य नेताहरू पक्राउ परेका थिए।

राजावादी समूहले प्रहरीले आन्दोलनमा ‘शान्तिपूर्ण सहभागी’ नेताहरूलाई अमानवीय तवरले गिरफ्तार गरेको आरोप लगाएको छ।

सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, शान्तिपूर्ण आन्दोलनकै क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले जसरी अमानवीय तवरले पक्राउ गर्‍यो, त्यसको हामी घोर निन्दा गर्दछौं।

बर्तमान व्यवस्था विरुद्ध राजसंस्था पुनःस्थापनाको माग गर्दै उत्रिएको राजावादी समूहको आन्दोलनले संवेदनशील मोड लिएको छ। सरकारी हस्तक्षेप र नेताहरूको गिरफ्तारीपछि आन्दोलनकारीहरूले बन्दको घोषणा गर्दै जनस्तरमा प्रभाव विस्तार गर्ने रणनीति लिएका छन् ।