काठमाडौं — गृह मन्त्रालयले आइतबार मन्त्रिस्तरीय निर्णयमार्फत ६ जना सहसचिवको सरुवा गरेको छ। गृहमन्त्री रमेश लेखकको नेतृत्वमा गरिएको निर्णयले केही जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरबदल गर्दै मन्त्रालय तहमा समेत जिम्मेवारी हेरफेर गरिएको हो।
गृह मन्त्रालय स्रोतका अनुसार बर्दियाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्मा कास्की पठाइएको छ। हाल कास्कीमा कार्यरत भरतमणि पाण्डेलाई मन्त्रालय तानेर पदस्थापन गरिएको छ।
त्यस्तै, गृह मन्त्रालयको बरण्डामा कार्यरत सहसचिव सुरेन्द्र पौडेललाई बर्दियाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
धनुषाका सिडिओ रामुराज कडरियालाई मन्त्रालयमा तानिएको छ भने उनी स्थानान्तरण भएपछि मन्त्रालयमै रहेका सहसचिव शंकरहरि आचार्यलाई धनुषा पठाइएको छ।
पाँचथरमा रिक्त रहेको प्रमुख जिल्ला अधिकारीको पदमा सहसचिव अरुण पोखरेललाई पठाइएको छ। यसअघि पाँचथरका सिडिओ रहेका विष्णुप्रसाद कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिइएको थियो।
यसबीच, पूर्व प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईमाथि भिजिट भिसाको नाममा मानव तस्करीमा संलग्न भएको आरोप लागेपछि उनीमाथि अख्तियारले छानबिन थालेको थियो। भट्टराईमाथि अनुसन्धान सुरु भएलगत्तै उनलाई मन्त्रालयमा सरुवा गरेर जिम्मेवारीबाट हटाइएको गृहमन्त्री लेखकको निकट स्रोतले जानकारी दिएको छ।
प्रतिक्रिया