काठमाडौं — राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न काठमाडौं प्रहरी परिसर पुगेका राप्रपा सांसद दीपक सिंह आफैँ प्रहरी नियन्त्रणमा परेका छन्।
परिसरको गेटमै प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसपी अपीलराज बोहराले जानकारी दिएका छन्।
राजसंस्था पक्षधरहरूको नारायणचौरमा आयोजित आन्दोलनबाट पक्राउ परेका कमल थापा सहित ६ जनालाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ। थापालाई हिरासतमा लिएपछि स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको थियो। एक घण्टापछि परीक्षण सकिएपछि उनलाई पुनः प्रहरी परिसर फर्काइएको छ।
कमल थापालाई भेट्न परिवार र आफन्तहरू परिसर पुगेका थिए। तर, प्रहरीको अनुमति नपाउँदा उनीहरूलाई प्रवेश दिइएन। यसक्रममा कमल थापाका भाइ अभिषेक थापा र प्रहरीले वादविवादसमेत गरेका थिए।
एसपी बोहराले भने, परिसरमा रहेका प्रहरीमाथि सांसद सिंहले दुर्व्यवहार गरेपछि नियन्त्रणमा लिनु परेको स्पष्ट पारेका छन्। प्रहरी स्रोतका अनुसार थापालाई हिरासतमा नै राख्ने वा छाड्ने विषयमा अन्तिम निर्णय नभइसकेको र कानुनी प्रक्रिया अनुसार अघि बढाइने जानकारी दिएको छ।
प्रतिक्रिया