नेपालका वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको आइतबार बिहान निधन भएको छ।
७८ वर्षीय रसिकको निधन हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा बिहान ११ बजेतिर भएको पारिवारिक स्रोतले जनाएको छ।रसिक विगत ५ वर्षदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए। उनका भाइ नाता पर्ने संगीतकार वसन्त मुकारुङका अनुसार अन्तिम समयसम्म अस्पतालमै उपचाररत रहेका रसिकको अवस्था जटिल हुँदै गएको थियो।
संगीतकार रसिककी एक मात्र छोरी हाल बेलायतमा रहेकी छिन्। परिवारले उनी फर्किएपछि मात्र दाहसंस्कार गरिने जनाएको छ। अहिले रसिकको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ।
पाँच दशकको सांगीतिक यात्रा
‘लेकाली’ समूहबाट करिब पाँच दशकअघि संगीत यात्रामा प्रवेश गरेका रसिक नेपाली गीतसंगीतको दोस्रो पुस्ताका महत्वपूर्ण प्रतिनिधि थिए। उनका गीतमा नेपाली समाजको पीडा, संघर्ष र सपनाको गम्भीर अभिव्यक्ति पाइन्छ। उनले दर्जनौं कथा, कविता, उपन्यास, संस्मरण र निबन्ध संग्रहहरू पनि प्रकाशित गर्नुभएको थियो। नेपाली साहित्यमा समेत उस्तै योगदान दिने रसिक बहुआयामिक प्रतिभाका धनी थिए।
राष्ट्रका सांस्कृतिक संस्थानमा नेतृत्व
रसिकले आफ्नो जीवनको ३१ वर्ष विभिन्न राष्ट्रसेवाका पदहरूमा बिताएका थिए। उनले निम्न जिम्मेवारीहरू सम्हाल्नुभएको थियो ।
- रत्न रेकर्डिङ संस्थान अध्यक्ष तथा महाप्रबन्धक २०३८–२०४०
- सांस्कृतिक संस्थान महाप्रबन्धक २०४०–२०४६
- साझा प्रकाशन अध्यक्ष तथा महाप्रबन्धक २०५२–२०५५
- नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान सदस्य सचिव २०७२–२०७५
जीवन परिचय
गणेश रसिकको जन्म २००४ साल असोज ४ गते भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–२, छिनामखुको नौलागाउँमा भएको थियो। उनका बाबु नरोत्तम राई र आमा रत्नमाया राई हुन्। उनले बीएसम्मको औपचारिक शिक्षा प्राप्त गरेका थिए।
माटो र देशप्रेमका सच्चा गीतकाररसिकको रचना र आवाजमा स्थानियता, माटोको माया, प्राकृतिक सौन्दर्य, र देशभक्तिको भावना प्रष्ट झल्कन्छ।
उनी नातिकाजी, नारायण गोपाल, गोपाल योञ्जन, बच्चु कैलाश जस्ता हस्तीहरू पछिका दोस्रो पुस्ताका होनहार संगीतकर्मी थिए।
प्रतिक्रिया