ज्येष्ठ शुक्ल षष्ठीका दिन नेवार समुदायले वर्षको अन्तिम पर्वका रूपमा सिथि नखः आज धुमधामका साथ मनाइरहेका छन्। परम्पराअनुसार यो पर्व वर्षा सुरु हुने सङ्केतसँग जोडिएको छ, जससँगै धान रोपाइँजस्तो महत्वपूर्ण कृषिकर्मको सुरुआत हुने भएकाले यसलाई “अन्तिम चाड” भनिन्छ।
यो दिनलाई भगवान कुमार (कार्तिकेय) को जन्मोत्सवका रूपमा पनि मनाइन्छ। धार्मिक मान्यताअनुसार कुमारको पूजा गरी मास, मुगी, केराउ आदिबाट बनाइने परम्परागत पकवान बारा खाने चलन छ। यसका अतिरिक्त भर्खर भित्रिएको नयाँ गहुँबाट बनाइने म्हुछ्यामढी (भुटेको गहुँको पिठो, चिनी मिसाएर मुठ्ठी पारिएको परिकार), चटामरी, पापड, गहुँको मालपुवा आदि खाने परम्परा छ।
सिथि नखःका दिन नेवार समुदायले मुहान, इनार, कुवा, पोखरी लगायत पानीका स्रोतहरूको सरसफाइ गर्छन्। वर्षात्को भेलले फोहर पानी पिउने पानीको स्रोतमा मिसिन नदिन र थुनिएको मूल खुलाउन यो सरसफाइको चलन रहेको छ।
यस दिन खेतबारीमा काम नगर्ने धार्मिक मान्यता रहेको छ। एक बिहानै गाईवस्तुको गोबर र कम्पोष्ट मल खेतमा पुर्याएर त्यसपछि पर्व मनाउने तयारीमा लागिन्छ। खेतको माटोमा चोट पुर्याउन नहुने विश्वास पनि यो पर्वसँग जोडिएको छ।
संस्कृतिकर्मी पुरुषोत्तम लोचन श्रेष्ठका अनुसार, सिथि नखः दुई प्रमुख कारणले विशेष छ—एकातिर यो पर्व भगवान कुमारको जन्मदिन हो, अर्कोतर्फ कृषिमा व्यस्त हुने समय सुरु हुनुअघि शारीरिक बल उत्पन्न गर्ने पर्वका रूपमा लिइन्छ। श्रेष्ठका अनुसार, गणेश देवता गणनायक हुन् भने कुमार देवगणका सेनापति हुन्, र कुमारको पूजा गर्दा शरीरमा शक्ति प्राप्त हुने विश्वास गरिन्छ।
नेवार समुदाय कला, संस्कृति र चाडपर्वप्रति विशेष रूचि राख्ने समुदाय हो। उनीहरू वर्षभर सांस्कृतिक झाँकी, जात्रा र पर्व मनाउने गर्छन्, तर वर्षासँगै ती सबै थाँती राखी धान रोपाइँमा केन्द्रित हुन्छन्। “मान्छे मरे घुमले छोपेर भए पनि पहिला धान रोपाइँ सक्नुपर्छ” भन्ने भनाइले कृषिमा धानको स्थान र प्राथमिकता देखाउँछ।
धान खेती निकै परिश्रमसाध्य कार्य हो। वर्षात्को झरीमा भिजेर गरिने रोपाइँले शारीरिक बलको माग गर्छ। यही कारणले सिथि नखःमा शरीरमा शक्ति दिने परिकारहरू खाने चलन छ। नयाँ गहुँबाट बनाइने विभिन्न रोटीहरू, मसला र दालबाट बनेका परिकारहरूको सेवनले यस अवधिमा शरीरलाई आवश्यक शक्ति प्रदान गर्छ भन्ने विश्वास पाइन्छ।
भक्तपुरको गछेंस्थित नवदुर्गा मन्दिरमा आजको अवसरमा ठूलो भीड लागेको छ। बिहान ५ बजेबाटै मन्दिर सर्वसाधारणका लागि खुला गरिएको जनाइएको छ।
यस दिन चोखो भई भगवान कुमार र नवदुर्गाको पूजा गरी मास, मुगी, केराउबाट बनाइने परिकारहरू जस्तै बारा, चटामरी, म्हुछ्यामढी, आरुबखडा, काँक्रो लगायत पकवान चढाउने चलन छ। मल्लकालदेखि नै भक्तपुर र मध्यपुरथिमिका घरधुरीहरूले नवदुर्गालाई पूजा अर्पण गर्ने परम्परा रहेको छ।
आज नुहाउनाले वर्षा फाप्ने विश्वाससहित, सिथि नखः पर्व नेवार समुदायमा धार्मिक, सांस्कृतिक र कृषिजन्य दृष्टिकोणले महत्वपूर्ण चाडका रूपमा मनाइँदै आएको छ।
प्रतिक्रिया