सोलुखुम्बुको पहिलो बिमानस्थलः जसको बारेमा धेरैलाई थाहा छैन तथ्य

नुतन श्रेष्ठ
32.2k
Shares

सोलुखुम्बु जिल्ला पहिलो बिमानस्थल त्यो पनि आमादब्लम हिमालको काखमा भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । यसका बारेमा सम्बन्धित केहीलाई बाहेक नयाँ पुस्तालाई बिरलै जानकारी होला ।

सन् १९६० को दशकमा नेपाल कै ईतिहासमा पहिलो पटक हिमालको काखमा बिमानस्थल बन्यो मिङ्बो बिमानस्थल । स्थानिय खर्क रहेको सो मिङ्बो भन्ने स्थानमा खुम्बु क्षेत्रको बिकासमा पहिलो खुट्किलो सावित हुँदै बनेको सो बिमानस्थलले नेपाली हवाई उडानमा कहिल्यै नसोचिएको नविन सोचको बिकास गरेको थियो ।

देशका मुख्य केही शहरहरुमा सन् १९५५ ताका बिमानस्थल बनेपनि पहाडी तथा हिमाली क्षेत्रमा बिमानस्थलको कल्पना समेत गरिएको थिएन । त्यही कल्पनाभन्दा बाहिरको सोच लिएर प्रथम पटक सगरमाथा आरोहण गरेका सर एडमण्ड हिलारीले यो सपना पनि साकार बनाउन लागि परे । यही सोचका कारण सन् १९६० को अप्रिल ५ बन्यो त्यो एतिहासिक क्षण जसले नेपाली हवाई क्षेत्रमा ठुलो परिवर्तन ल्याउन सहयोग गरेको थियो ।

४ हजार ५७३ मिटरको उचाईमा रहेको आमादब्लम अगाडी हिमाल र पहाडले घेरिएको क्षेत्र, उडानका लागि पनि कठिन स्थान, मौषमी अप्ठेराहरु यी सबै कुरालाई पन्छाउदै नयाँ ईतिहास कायम गर्दै १९६० मा पहिलो पटक बिमानस्थल बनि पहिलो उडान समेत भयो ।

चिन तिब्बतको आन्दोलनका बिच तिब्बती शरनार्थीहरु नेपाल भित्रने क्रम तिब्र भईरहेको अनि शरनार्थीहरुको व्यवस्थापनमा नेपाललाई गाह्रो भईरहेको अवस्थामा स्विस भूगर्भशास्त्री टोनी हेगनले शरनार्थीहरुलाई राहत सामाग्रि बितरण गर्न त्यसबेला सहजिकरण गरेका थिए । उनले अन्र्तराष्ट्रिय रेडक्रस (क्ष्ऋच्ऋ) सँग नेपालमा रहेका तिब्बती शरनार्थीहरुलाई राहत वितरण गर्न स्विस–निर्मित छोटो उडान र अवतरण क्त्इी बिमान पिलाटस पोर्टर नेपाल ल्याउदै नयाँ युगको सुरुवात गरेका थिए ।

सोही बिमानलाई सर एडमण्ड हिलारीले खुम्बु क्षेत्रमा ऐतिहासिक क्षणको बिजारोपण सँगै बिकासको बाटो खोल्नलाई प्रयो गरे ।

किन बन्यो मिङ्बो बिमानस्थल

सन् १९५३ मा सर एडमण्ड हिलारी सगरमाथा आरोहण पश्चात न्युजिल्याण्ड फर्कने क्रममा आफ्ना सहयोगी शेर्पाहरुको साथमा ओर्लदै थिए त्यही समय उनले एउटा प्रश्न गरे, ‘तिमीहरुले मलाई आरोहणमा सहयोग गर्यौं यसका लागि धन्यबाद, तर तिमीहरुलाई के कुराको आवश्यक्ता छ भन म त्यसलाई पुरा गर्ने प्रयास गर्नेछु ।’ खुम्जुङ खुन्देका ल्हाक्पा गेलु शेर्पाले आफ्नो बाबुले बताएको कथालाई स्मरण गर्दै सुनाए ।

यसरी न्युजिल्याण्डबाट सगरमाथा आरोहणका लागि पुगेका बिदेशी नागरिकबाट के चाहिन्छ भन्ने प्रश्नसँगै स्थानियमा नयाँ उत्साह पैदा भयो । उनिहरुले विकास निर्माणका कुरालाई बिर्सेर शिक्षाका लागि बिद्यालय बनाई दिन अनि शिक्षकको व्यवस्था गरिदिन आग्रह गरे । सोही आग्रहलाई पुरा गरिदिने बाचा सहित बिदा भएका हिलारी काठ्माण्डौ न्युजिल्याण्ड पुगे । उनले खुम्बु क्षेत्रका बालबालिकाहरुलाई शिक्षा दिन बिद्यालय बनाउन धेरैजनालाई भेटे, सहयोग संकलन गरे पनि भारत तर्फ हानिए ।

भारतको कोलकता पुगेर उनले त्यहाँ पनि सहयोगका लागि सम्वाद अगाडी बढाएको स्थानिय ल्हाक्पा गेल्बु शेर्पा बताउँछन् । कोलकतामा उनले आल्मोनियमको भवन बनाउने एउटा कम्पनी फेला पारे, सोही कम्पनीसँग मिलेर उनले २ वटा कक्षा कोठा हुने गरी भवनको तयारी गर्न लाए । भवनको लागि सामाग्रि तयार भएपछि सो सामाग्रि सडक मार्ग हुँदै काठमाण्डौ ल्याए । सामाग्रि काठमाण्डौ त पुग्यो अब काठमाण्डौबाट खुम्जुङसम्म ती सामाग्रि कसरी पुर्याउने भन्ने मुख्य चुनौती खडा भयो । सोही चुनौतीलाई चिर्दै जाँदा तिब्बती शरनार्थी बिभिन्न नाका हुँदै नेपाल भित्रने क्रममा खुम्बु क्षेत्रमा पनि तिब्बती शरनार्थी रहेको कुरालाई आधार बनाएर उनले त्यहाँ राहत सामाग्रि पुर्याउन सहयोग गर्ने गरी सहजिकरण गर्न थाले ।

पछि स्विस रेडक्रससँगका सहकार्यमा राहत सामाग्रि खुम्बु क्षेत्र पुर्याउन योजना बन्यो तर समस्या थियो दुरी अनि कठिन भुगोल । मानिसलाई बोकाएर स्थल मार्ग हुँदै सामाग्रि त्यहाँ पुर्याउन सम्भावना कतिपनि थिएन त्यसैले सर एडमण्ड हिलारी आफैले आफ्नो खर्चमा पिलाटस पोर्टर बिमान अवतरण गर्न सक्ने बिमानस्थल बनाईदिने प्रस्ताव गरे ।

बिमानस्थल बनाईदिने प्रस्तावसँगै हिलारीले बिद्यालय निर्माणको सामाग्रि पनि ढुवानी गरिदिनु पर्ने प्रस्ताव अघि सारे । एकतर्फ राहत सामाग्रि सहज रुपमा पुग्ने अर्को तर्फ शिक्षाको ज्योति फैलाउने उद्धेश्य पनि पुरा हुने, यत्ति कुरामा सहमति भएपछि सर एडमण्ड हिलारीले पुनः खुम्जुङ पुगेर सबै कुराको बेलिबिस्तार लाए । गाउँमा नै बिद्यालय बन्ने भएपछि त स्थानिय उत्साहित नहुने कुरै भएन अनि लागे सबैजना बिमानस्थल बनाउने अभियानमा । त्यत्तिबेला हिलारीले सो बिमानस्थल बनाउन ९ सय डलर खर्चेको लिखित ईतिहासमा पनि उल्लेख छ ।

सो बिमानस्थल निर्माणका क्रममा एउटा रोचक तथ्य पनि छ । जब स्थानियले आमाडब्लम अगाडीको चौरी चर्ने खर्कमा बिमानस्थल बनाउन चउर सम्याउन थाले त्यहाँ एउटा बडेमानको चट्टान फेला पर्यो । त्यो चट्टा यति ठुलो थियो की जसलाई उपलब्ध घन, कुटो कोदालोले फुटाएर हटाउन सकियोस् । तसर्थ उनिहरुले सोही ठुलो ढंगाको आकारमा एउटा खाल्डो खने अनि सोही खाल्डो भित्र चट्टानलाई पल्टाएर पुर्न सफल भए । अनि मात्र बिमानस्थलले बिमान बस्ने गरी आकार पायो ।

सन् १९६० को अप्रिल ५ को त्यो एतिहासिक दिन जुन दिन पहिलो पटक काठमाण्डौ स्थित तत्कालिन गौचरण बिमानस्थल हालको त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थलबाट पिलाटस पोर्टर बिमान लिएर स्विस पाईलट तथा नागरिक उड्ययन प्राधिकरणका कर्मचारी मिङ्बो बिमानस्थलमा अबतरण गरे । त्यो क्षण खुम्बु क्षेत्रको ईतिहासमा नयाँ युगको शुरुवात भएको क्षण बन्यो ।

खुम्जुङ पुर्व प्राथमिक बिद्यालयको शुरुवात

मिङ्बो बिमानस्थलमा पिलाटस पोर्टर बिमानले ल्याएको बिद्यालय भवनको सामाग्रि स्थानियले पुनः खुम्जुङसम्म पुर्याउनु पर्ने अर्को चुनौति बाँकी नै थियो । तर पनि यो चुनौतिलाई उनिहरुले एकैदिनमा पुरा गरे । खुम्बु क्षेत्रको एक मात्र बिद्यालय बन्ने अनि आफ्ना बालबच्चाले शिक्षा पाउने भएपछि स्थानियले एक दिनको पैदल यात्राको दुरीमा रहेको सो बिमानस्थलमा रहेको सामाग्रि एकैदिनमा खुम्जुङ पुर्याएका थिए ।

सामाग्रि आएर बिद्यालय भवन निर्माण भएपछि शुरुवात भयो २ कोठे खुम्जुङ पुर्व प्राथमिक बिद्यालय । बिद्यालय भवन त तयार भयो तर त्यहाँ अँग्रेजी बिषयलाई मुख्य बनाएर अध्यापन गराउने शिक्षक थिएन । स्थानिय स्तरमा रहेकाहरु अध्यापन गराउन नसक्ने थिए । त्यसैले पुनः एडमण्ड हिलारी शिक्षक खोज्न भारतको दार्जिलिङ तर्फ हानिए । त्यहाँ उनले तेमदोर्जे शेर्पा नामका एक जना शिक्षक फेला पारे अनि उनलाई नै लिएर हिलारी खुम्जुङ फर्के । तेमदोर्जे खुम्जुङ पुगेपछि शुरु भयो त्यहाँ औपचारिक शिक्षा ।

अहिले पनि त्यसताका सो बिद्यालयमा अध्ययन गरेका खुम्बु क्षेत्रका धेरैजसो व्यक्तिहरु नेपालको दिग्गज पर्यटन व्यवसाय गरेर बाँची रहेका छन् भने कतिपय बिदेशमा बसेर नेपालमा नै योगदान पुर्याई रहेका छन् ।

कसरी बन्द भयो मिङ्बो बिमानस्थल

शिक्षा प्रदान गर्न आवश्यक बिद्यालय भवन निर्माणको सपना सहित शुरु भएको यात्राले सगरमाथा क्षेत्रमा पहिलो बिमानस्थल त बनायो तर त्यो बिमानस्थल निक्कै नै चुनौतिपुर्ण थियो । अहिले लुक्ला बिमानस्थललाई खतरनाक एयरपोर्ट भनेर चिनिएपनि ४ हजार ५ सय मिटरभन्दा बढीको उचाईमा रहेको सो बिमानस्थल ज्यादै चुनौतिपुर्ण र खतरनाक भएकै कारण अधिकारीहरुले सो बिमानस्थललाई पुर्ण रुपमा बन्द गर्न प्रस्ताव गरेका थिए ।

बिमानस्थल संचालनको केही महिनापश्चात उड्ययन अधिकारीहरुले बिमानस्थल जाँचका लागि मिङ्बो बिमानस्थलसम्मको हवाई यात्रा गर्ने निधो गरे । तर त्यसताकाको हावाको बेग, चट्टानी भुगोल, हिमालै हिमालको बिचमा रहेको बिमानस्थल, बिकट भौगोलिक अवस्था लगायतले उनिहरुको चेत हराउन बाध्य गराएको ईतिहासमा उल्लखे गरिएको छ । त्यसैले उनिहरुले काठमाण्डौ फर्कदा समेत पैदल यात्रा रोजे अनि सम्बन्धित निकायमा पुगेर सो बिमानस्थललाई सदाका लागि बन्द गर्न सिफारिस गरे । सोही सिफारिसका आधारमा मिङ्बो बिमानस्थल बन्यो अब्यान्डन एयरपोर्ट ।

सर एडमण्ड हिलारी सुचना केन्द्र (भिजिटर सेन्टर)

१९५३ मा सर एडमण्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण पश्चात स्थानिय स्तरमा नै सहयोग गर्ने भावना जागृत भएपछि हिलारीले समग्र खुम्बु क्षेत्रका शेर्पा समुदायको शैक्षिक विकास गर्ने सोच बनाए । तत्पश्चात शुरु भएको उसको शैक्षिक विकास यात्राले उनको देश न्युजिल्याण्डको भुमिसम्म पुग्दा एउटा सिंगो बिद्यालय नै निर्माणको योजनाले साकार रुप पायो ।

सगरमाथा आरोहण पछि स्वदेश फर्किएका हिलारीले आफ्ना साथीभाई तथा सहयोगीहरुलाई खुम्जुङको बारेमा जानकारी गराएपछि न्युजिल्याण्डबासीहरुले पनि स्वस्फुर्त रकम संकलन गरी अभियानमा सहभागि भएको हालका वडा अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए ।

सन् १९६१ ताका सबै सामाग्रि जुटाएर पहिलो पटक खुम्जुङमा बिद्यालयको स्थापना भयो अनि शुरु भयो औपचारी अँग्रेजि भाषा सहितको शैक्षिक यात्रा ।

यसरी बनेको सो भवनलाई ऐतिहासिक बनाउने उद्धेश्य सहित गाउँपालिका, वडा, बिद्यालय तथा स्थानियको सहकार्य अभियान जुट्यो । सोही कार्यलाई सघाउन हिलारी आफैले परियोजना संचालनका लागि स्थापना गरेको हिमालयन ट्रष्ट नामक संस्थाले सुचना केन्द्र (भिजिटर सेक्टर) को गुरुयोजना निर्माणका लागि प्राविधक सहयोग उपलब्ध गरायो ।

सोही गुरुयोजनालाई आधार मानेर करिब २ बर्षअघि तत्कालिन खुम्जुङ माध्यमिक बिद्यालयको पहिलो भवन सुचना केन्द्रको रुपमा परिणत भयो । सो भवनमा अहिले हिलारीको ईतिहास, पर्यटनसँग सम्बन्धित दस्तावेज लगायतका सामाग्रि, तस्विर तथा अन्य सामाग्रि राखिएको छ ।

२ बर्ष अघि स्थापित सुचना केन्द्रले हालसम्म ७ लाख बराबरको आर्थिक संकलन गरेको छ ।

सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिका वडा नं. ४ खुम्जुङमा रहेको सो सुचना केन्द्रले सर एडमण्ड हिलारीको जीवनसँग जोडिएका बिभिन्न सामाग्रि, कृति तथा अन्य गौरवपुर्ण इतिहास संकलन गरी सुचना तथा अन्य जानकारी पर्यटक तथा अन्य आगन्तुकलाई उपलब्ध गराई सो बापत सेवा शुल्क संकलन गर्दै आएको छ ।

संकलित रकम खुम्जुङको शैक्षिक बिकास, निजी स्रोतमा शिक्षकको व्यवस्था, सर एडमण्ड हिलारीको संस्था हिमालयन ट्रष्टले बिगतदेखि नै सहयोग उपलब्ध गराउँदै आएको खुम्जुङ माविलाई अझ सशक्त बनाउन खर्च गरिने पनि शेर्पाले बताईन ।

केन्द्रले बिदेशी पर्यटकहरुलाई नेपाली ३ सय रुपैंया तथा नेपाली पर्यटकहरुलाई १ सय रुपैंया सेवा शुल्क लिने गरेको छ ।