भोजपुर — भोजपुरको नेवार समुदायले आफ्नै मौलिक भाषा, बाजा र संस्कृतिको संरक्षणका लागि सक्रियता बढाउँदै गएको छ। नेवार समुदायमा लोप हुँदै गएको परम्परागत धिमे बाजाको जगेर्ना गर्न जिल्लामा एक महिनासम्म धिमे बाजा तालिम सञ्चालन गरिएको छ।
नेवाः मिसा दबु भोजपुरको आयोजनामा सञ्चालित उक्त तालिममा नयाँ पुस्तालाई धिमे बाजाको ज्ञान दिने उद्देश्य राखिएको थियो। संस्थाकी अध्यक्ष अवनी शाक्यका अनुसार युवाहरूलाई सांस्कृतिक पहिचानप्रति आकर्षित गर्दै सीप हस्तान्तरण गर्न तालिम आयोजना गरिएको हो।
धिमे बाजा नेवार समुदायमा शुभकार्यदेखि चाडपर्वसम्म प्रमुख बाजा मानिन्छ। तालिमका प्रशिक्षक प्रेम शाक्यले सबै मिलेर परम्परागत बाजा, वेशभूषा, संस्कार र संस्कृति जोगाउनुपर्ने आवश्यकता औंल्याए। उनी भन्छन्, ूसंस्कृति जोगाउन नयाँ पुस्तालाई तालिममार्फतै सीप दिन जरुरी छ।ू
संस्कृतिप्रति युवाहरूको चासो नहुँदा मौलिकता हराउने जोखिम रहेको भन्दै अध्यक्ष शाक्यले आफुहरू युवालाई सक्रिय बनाउँदै आएको बताए। पन्ध्र जनाको सहभागितामा सम्पन्न तालिमले सहभागीहरूलाई धिमे बाजा बारेको ज्ञान र बजाउने सीप प्रदान गरेको छ। सहभागी निलेस प्रधानले तालिमअघि धिमे बाजाबारे जानकारी नभए पनि तालिमपछि आत्मविश्वाससाथ बजाउन सक्ने भएको बताए।
धिमे बाजा नयाँ वर्ष, विजयादशमी, दीपावली, गाईजात्रालगायत पर्वमा प्रमुख रूपमा बजाइन्छ। तर पछिल्ला पुस्तामा सांस्कृतिक हस्तान्तरण नहुँदा यसको अस्तित्व संकटमा परेको स्थानीय अगुवाहरू बताउँछन्।
संस्कार र संस्कृतिको संरक्षणमा स्थानीय सरकार पनि साथ दिइरहेको छ। भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले नेपाली संस्कृति अमूल्य सम्पत्ति भएको भन्दै भाषा, धर्म र संस्कृतिको संरक्षण सबैको साझा दायित्व भएको धारणा राखे। उनले धिमे बाजालाई केवल बाजा नभई समुदायको मौलिक पहिचानको रूपमा बुझ्नुपर्ने बताए।
एक महिनासम्म सञ्चालन गरिएको तालिम शनिबार सम्पन्न भएको छ। आयोजक र सहभागी दुवैले तालिमलाई संस्कृतिक संरक्षणतर्फको सकारात्मक पाइला मानेका छन्।
प्रतिक्रिया