लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीको महत्त्व अन्तर्राष्ट्रिय स्तरमा फैलाउन सञ्चार माध्यमहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहने बताएका छन् ।
शनिबार लुम्बिनीमा आयोजित टेलिभिजनहरूको प्रथम राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकाले यसको गहिरो प्रचारप्रसारमा सञ्चार क्षेत्रले अझ सक्रियता देखाउनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री आचार्यले भने “लुम्बिनी देवभूमि हो। ज्ञानभूमि हो। तपोभूमि हो। यसको महत्त्व विश्वभर फैलाउन जरुरी छ। यसका लागि सञ्चार माध्यमहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहन्छ।” उनले लुम्बिनी प्रदेशका समग्र क्षेत्रको विषयमा चर्चा परिचर्चा हुन जरुरी रहेको र विश्वको ध्यानाकर्षण गराउन मिडिया क्षेत्रको योगदान अनिवार्य हुने भएकाले सबै मिलेर अघि बढ्न आह्वान गरे।
मुलुक निर्माणमा सबै नागरिकले आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताउँदै मुख्यमन्त्री आचार्यले लुम्बिनीको विकास र समृद्धिका लागि सञ्चार क्षेत्रबाट अहिलेसम्म उल्लेखनीय भूमिका निर्वाह भएकोमा प्रशंसा गरे।
सरकारका काममा स्वस्थ आलोचना हुनु जरुरी भए पनि राम्रा कार्यहरूलाई अनदेखा नगर्न उनले आग्रह गरे। “सरकारका कमजोरी छन् भने त्यसको स्वस्थ आलोचना गर्नुस्। तर, सरकारको राम्रो काम हुँदा पनि अनदेखा गर्नुहुन्न,” मुख्यमन्त्री आचार्यले भने, “लुम्बिनी बनाउने काम कुनै अलौकिक शक्ति आएर हुने होइन। लुम्बिनी बनाउने जिम्मेवारी भनेको तपाईं हामी सबैको हो।”
‘समृद्धिका लागि सञ्चार’ नारासहित आयोजना गरिएको टेलिभिजनहरूको प्रथम राष्ट्रिय कार्यशालामा राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीका अध्यक्ष नरेश केसीको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यता रहेको थियो।
प्रतिक्रिया