कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले आज धनकुटाको बाढीले क्षतिग्रस्त बनाएको सडक क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि मन्त्री भण्डारीले स्थानीय प्रशासन र सरोकारवाला निकायहरूसँग समन्वय गरी सडक खुलाउन सक्दो प्रयास गर्न निर्देशन दिए।
मूलघाट नजिकै करिब ३० मिटर सडक बगाएपछि आज बिहानदेखि धनकुटा–धरान सडकखण्डमा यातायात पूर्णरूपमा अवरुद्ध भएको थियो। निरीक्षणपछि मन्त्री भण्डारीले आज साँझदेखि एकतर्फी रूपमा सडक सञ्चालनमा ल्याइने जानकारी दिए।
“वर्षा र बाढीको समय सुरु भइसकेकोले सबैलाई सतर्क रहन आग्रह गर्दछौं,” मन्त्री भण्डारीले भने। साथै उनले विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले आवश्यक तयारीहरू मिलाएको पनि जानकारी दिए ।
कोशी प्रदेश सरकारले बाढी र वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउन सर्वसाधारण र सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ।
प्रतिक्रिया