काठमाडौं । नेपाल बुद्धिजीवी परिषद्को ११ औं राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य बोकेर अघि बढेको स्पष्ट पारे।
पोखरेलले एमाले समाजवाद स्थापनाको स्पष्ट दिशा लिएर अघि बढिरहेको बताउँदै, “समृद्ध नेपाल, सुखी नेपाली भन्ने नाराले नेपाली मोडलको समाजवादलाई अभिव्यक्त गर्दछ,” भने। उनले बौद्धिक समुदायलाई नीति निर्माणदेखि आचरण निर्माणसम्म प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे।
“बौद्धिक समुदायले नीति, योजना, कार्यक्रम र आचरण निर्माणमा योगदान पुर्याउनु आवश्यक छ,” पोखरेलले भने, “समाजवादको मार्गचित्र तयार पार्न खोज केन्द्रित भएर काम गर्नुपर्छ।” उनले नेकपा एमाले लोकतान्त्रिक पार्टी भएकोले पार्टीभित्र र बाहिर लोकतान्त्रिक अभ्यास हुने स्पष्ट पारे।
“सर्वसम्मतिले नेतृत्व चयन गर्नु सबैभन्दा लोकतान्त्रिक विधि हो,” भन्दै उहाँले चुनाव हुँदैन भनेर कटाक्ष नगर्न आग्रह गरे।पोखरेलले पार्टी नेतृत्वले जनसंगठनको निर्वाचनमा खेलाडी नभई रेफ्रिको भूमिका मात्र खेल्ने जानकारी दिए। “नेतृत्व चयनको प्रक्रिया सहभागीहरूको हो, पार्टी नेतृत्वले सहजीकरण मात्र गर्छ,” उनले स्पष्ट पारे।
यसरी एमाले समाजवादको नेपाली मोडल निर्माणमा दृढ प्रतिबद्धताका साथ अघि बढिरहेको सन्देश पोखरेलको थियो ।
प्रतिक्रिया