सोलुखुम्बुबाट नवजात शिशुसहित सुत्केरीको उद्धार

नुतन श्रेष्ठ
0
Shares

सोलुखुम्बुबाट एक सुत्केरी महिलाको हेलीकप्टर मार्फत उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगतको नेपाली सेनाको हेलीकप्टर मार्फत खुम्बु पासाङ ल्हमु गाउँपालिका ४ की सुत्केरी महिला र नवजात शिशुको उद्धार गरिएको हो ।

२७ वर्षीया अनमिता कुलुङले बिहिवार दिउसो छोरालाई जन्म दिएको भएपनि बच्चालाई स्वास प्रस्वासमा समस्या आएकाले उपचारको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौ पठाइएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धारलाई तीव्रता दिएको हो ।

सो कार्यक्रम अन्तरगत दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई जिल्ला प्रसाशन कार्यालयको समन्वयमा उद्धार गर्ने गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले तयार गरेको उद्धारसम्बन्धी कार्यविधि, २०७५ अनुसार सोलुखुम्बु सहित २९ जिल्लामा पूर्णरूपले र अन्य केहि जिल्लाहरुमा आंशिक रुपले यो कार्यक्रम लागू भएको छ ।