जर्मनीको बर्लिनमा सम्पन्न राष्ट्रसंघीय शान्ति स्थापनासम्बन्धी उच्चस्तरीय मन्त्रिस्तरीय सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व रक्षा मन्त्री मानबीर राईले गरेका छन् । विदेश तथा रक्षा मन्त्रालयका ८० भन्दा बढी मन्त्रीहरुको सहभागितामा बर्लिनमा सम्पन्न सम्मेलनमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनलाई थप प्रभावकारी बनाउने उपायबारे छलफल भएको थियो ।
संघीय जर्मन विदेश मन्त्रालयमा आयोजित बैठकमा रक्षा मन्त्री राईले संयुक्त राष्ट्रसंघ र जर्मन सरकारप्रति सम्मेलन आयोजना गरेकोमा आभार व्यक्त गर्दै शान्ति स्थापनामा नेपाली सेनाको योगदान उल्लेखनीय रहेको बताए । उनले सन् १९५८ देखि अहिलेसम्म बिना कुनै सर्त नेपाली सेना राष्ट्रसंघीय शान्ति मिसनमा निरन्तर तैनाथ हुँदै आएको जानकारी गराएका थिए ।
रक्षा मन्त्रीले हाल नेपाल विश्वमै सबैभन्दा ठूलो सैन्य योगदान दिने राष्ट्रका रुपमा रहेको र ११ वटा मिसनहरूमा ६ हजारभन्दा बढी नेपाली सैनिक परिचालन गरिएको उल्लेख गरेका छन् । उनले राष्ट्रसंघको अनुरोधमा १० हजार सैनिक परिचालन गर्न नेपाल तयार रहेको तथा “Rapid Deployment Level Workshop” आयोजना गर्नेसाथै यौन हिंसा तथा दुव्र्यवहारका पीडितका लागि “Trust Fund” मा योगदान दिने समेत घोषणा गरेका छन् ।

सम्मेलनमा मन्त्री राईले राष्ट्रसंघीय शान्ति मिसनको नेतृत्व तहमा नेपाली नेतृत्वका अवसरहरूको पक्षमा आवाज उठाउँदै, महिला सहभागिता र संयुक्त प्रयासको आवश्यकता औंल्याए । उनले नेपाली महिलाहरूको सहभागिता राष्ट्रसंघीय शान्ति मिसनमा विशेष महत्व रहेको बताएका थिए ।

सम्मेलनको अवसरमा मन्त्री राईले मानव अधिकार तथा मानवतावादी कानुनको क्षेत्रको उच्च अधिकारीहरू सँग भेटघाट समेत गरेका छन् । मानव अधिकार उच्च आयोगकी प्रमुख इल्जे ब्रान्ड्स केहरिससँगको भेटमा उनले मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनको पालनामा नेपालको अडान दोहोर्याए।
त्यस्तै, चीनका राष्ट्रिय रक्षा मन्त्री डोङ जुनसँगको भेटमा दुबै देशका मन्त्रीहरूले राष्ट्रसंघीय शान्ति मिसनसम्बन्धी साझा चासोका विषयमा विचार आदानप्रदान गरेका थिए।
प्रतिनिधिमण्डलमा जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेती, राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापा, प्रधान मन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयका उच्च अधिकारीहरु पनि सहभागी थिए।

प्रतिक्रिया