दार्चुला–टिङ्कर सडक खण्डको ट्रयाक खोल्ने कार्य शुरु

साझा प्रेस
50
Shares

महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट ट्रयाक खोल्न सुरु गरेको छ । दुम्लिङ र गागाबाट ट्रयाक खोल्न थालिएको हो ।

सेनाले व्यास गाउँपालिका–१ को छाङ्गरु गागाबाट सडक खन्न थालेको छ । यसअघि व्यास गाउँपालिका–३ तुसारपानी हुँदै वडा नम्बर २ को दुम्लिङ, कल्जु, आतुङती, तम्बाकुलगायतको ठाउँमा मात्र काम हुँदै आएको थियो ।

दार्चुला–टिङ्कर ७९ किलोमिटर सडकको ट्रयाक खुलाउन सेनाको निर्माण दल जुटेको छ । व्यास गाउँपालिका–३ तुसारपानीदेखि निर्माणको जिम्मा पाएको नसेनाले हालसम्म १५ दशमलव दुई किलोमिटर ट्रयाक खोलेको छ ।

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार ०८०÷०८१ मा १३ दशमलव चार किलोमिटर सडकको ट्रयाक खोलिएकामा दुई किलोमिटर स्तरोन्नति भइसकेको छ । चालु आर्थिक वर्षमा एक दशमलव आठ किलोमिटर ट्रयाक खोलिएको तथा एक दशमलव दुई किलोमिटर स्तरोन्नति भएको छ ।

बजेट अभावका कारण द्रुत गतिमा काम हुन सकेको छैन । चालु आवमा रु नौ करोड मात्र प्राप्त भएको थियो । बजेट अभावमा निर्माण बन्द हुने अवस्था आएपछि सरकारले थप रु पाँच करोड व्यवस्था गरेको उनले जानकारी दिए ।

पछिल्लोपटक प्राप्त बजेटबाट व्यास गाउँपालिका–१ छाङरुमा क्याम्प निर्माण, स्काभेटर, कम्प्रेसर मेसिन जिलेटिनलगायत अत्यावश्यक उपकरण र अन्य निर्माण सामग्री ढुवानीमा सेना जुटेको छ ।

नेपाली सेनाले कडा चट्टानी भाग रहेको तुसारपानी नजिक फतङगाडमा २०० मिटर ट्रयाक खोलेको छ । व्यास गाउँपालिका–२ आतुङ्ती क्षेत्रमा ५०० मिटर र तम्बाकु क्षेत्रमा ५०० मिटरभन्दा बढी नयाँ ट्रयाक निर्माण गरिएको छ ।

आर्थिक वर्ष २०७७÷७८ देखि सडक निर्माण थालेको सेनाले हालसम्म १५ किलोमिटर मात्र ट्रयाक खोलेको छ । बजेट अभावकै कारण पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य पूरा नभएको निर्माणमा संलग्न एक इञ्जिनियरले बताए ।

उपकरण ढुवानी नहुञ्जेल व्यास गाउँपालिका–२ बाट मजदुर परिचालन गरेर खन्न थालिएको छ । तीनचार दिनदेखि स्थानीय र सेनाले बाटो खनिरहेका छन् ।