वर्षाका कारण नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्र र काठमाडौं– हेटौंडा जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ ।
दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक हिलाम्मे भएर चिप्लो भएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।
सडक अवरुद्ध हुँदा यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।
सडक विस्तारको क्रममा रहेको दाउन्ने खण्डमा पानी पर्दा हिलो र नपर्दा धुलो हुने हुँदा यात्रा कष्टकर हुने गरेको छ ।
सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ । रातिदेखि वर्षाका कारण सडक बन्द भएकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
त्यसैगरी, गएरातिदेखि परेको वर्षाका कारण बागमती नदीमा आएको बाढीले डाइभर्सन बगाउँदा काठमाडौं–हेटौंडा जाने कान्ति लोकपथ पनि अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोलामा डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया