नेकपा एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले नेकपा एमालेको आन्तरिक जीवनमा २०८२ विशेष महत्वको वर्ष हुने बताएका छन् ।
आउने भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन गर्ने उद्घोष भइसकेकाले त्यसको ६ महिनाभित्र राष्ट्रिय महाधिवेशनको आयोजना हुने प्रबल सम्भावना रहेको उनले उल्लेख गरे । त्यसो हुँदा २०८१ फागुन–चैतमा भएको २०८२ को सदस्यता नवीकरण नै महाधिवेशन प्रक्रियामा सहभागी हुने फाइनल सूचि हुने उनले स्पष्ट पारे ।
नवीकृत सदस्यहरूको रिपोर्ट सङ्कलन गरी प्रदेश पार्टी कार्यालयमा पठाउने अन्तिम मिति बैशाख मसान्त तय भएकाले पार्टी सदस्य र मातहतका कमिटीले उच्च सजगता राख्नु पर्ने घडी आएको उनको भनाई छ ।
बैशाख महिना भरीमा प्रदेश पार्टीमा जिल्लाबाट सदस्यको नाम पठाउनु पर्ने भएकोले अब बाँकी रहेको दुई हप्ता एमालेका सदस्यका लागि निक्कै महत्वपूर्ण रहेको छ । ‘पछि पश्चाताप नहोस्’, सामाजिक सञ्जाल फेसबुकमा संगठन बिभाग प्रमुख अधिकारीले लेखेका छन् ।
प्रतिक्रिया