नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपिएको जिकिर गरेका छन् ।
नेपाली कांग्रेसको विपन्न उत्थान समन्वय विभागद्वारा केन्द्रीय कार्यालय सानेपामा आज आयोजित विपन्न वर्गको पहिचान, उत्थान र विकास गर्न गराउन नीतिगत तथा कार्यक्रम सुझाव सहितको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा देउवाले विभागहरूको सक्रियताले पार्टीलाई गतिशील, सशक्त र प्रभावकारी बनाएको बताएका हुन् ।
“प्रतिवेदन विपन्न लक्षित नीतिगत सुधारका लागि महत्त्वपूर्ण छ, निकै मेहनत गर्नुभएको छ, पार्टीको सबै तहका संरचना र निर्वाचित जनप्रतिनिधिलाई काम लाग्ने सुझावहरू छन्, यसलाई पार्टीले महत्वपूर्ण दस्तावेजका रूपमा स्वीकार गरेको छ, महत्वपूर्ण सुझाव छन्, भोलिका दिनमा ती सुझाव हेर्नेछौँ । केही सुझाव हेर्दा खर्चिलो पनि छन्”, देउवाले आफ्नो भनाईमा उल्लेख गरे । उनले नेपालको अर्थतन्त्रले भ्याएसम्म विभागले दिएको सुझाव कार्यान्वयन गर्न लाग्ने प्रतिबद्धता समेत जनाएका छन् ।
कार्यक्रममा महामन्त्री गगन थापाले नेपाली कांग्रेस पार्टीलाई विपन्न र गरिबको पार्टी हैन भन्ने आरोपलाई फरक दृष्टिकोणले हेर्नुपर्ने धारणा राखे । उनले भने, “नागरिकहरू विपन्न भएसम्म पार्टी बलियो हुँदैन, विपन्नलाई हुने खाने वर्गमा बदल्ने गरी काम गर्नुपर्नेछ, विपन्नलाई माथि उठाउने हो, हाम्रो सैद्धान्तिक आधार यही हो ।” उनले मानिसलाई प्राप्त भएको राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकार आर्थिकरूपमा विपन्न भएकै आधारमा उपयोग गर्न सकिँदैन भन्नु त्यो केवल औपचारिकता भएको बताए ।
विपन्न उत्थान समन्वय विभागका प्रमुख डाक्टर गोपाल दहिदले समितिले विभिन्न स्रोतबाट संकलन गरेको तथ्य र तथ्याङ्कका आधारमा विपन्न उत्थानका लागि ५६ पेजको प्रतिवेदन तयार पारेको बताए । प्रतिवेदनमा वडा र स्थानीय तहले जमानी बसेर विपन्नलाई उद्यमशीलता र रोजगारीका लागि ऋण दिनुपर्ने प्रस्ताव समेटिएको बताईएको छ ।
प्रतिक्रिया