कास्कीमा चट्याङले २ जनाको मृत्यु

साझा प्रेस
50
Shares

कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर दुई मजदुरको मृत्यु भएको छ ।

अन्नपूर्ण गाउँपालिका–११ पोडेस्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेको अवस्थामा आइतबार हावाहुरीसहितको चट्याङ लागेर संखुवासभाको सिलिचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरत पुविर राई र सोही ठाउँका वर्ष १८ का महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाईमा रहेको त्रिवेणीताल पदमार्गमा बाटो फराकिलो बनाउने, सिँढी हाल्ने र रेलिङ निर्माणमा खटिएका नौ जनामध्ये बाँकी सात जना भने सकुशल रहेको जनाइएको छ ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा चार जनाको टोली आइतबारनै घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक शमाले जनाए ।

नेपाल पर्यटन बोर्ड र गाउँपालिकाकाको संयुक्त लगानीमा पदमार्ग निर्माण सुरु भएको गाउँपालिकाले जनाएको छ ।