नेकपा एमाले केन्द्रीय संगठन विभागको २२ औँ बैठक विभागका प्रमुख काशीनाथ अधिकारीको अध्यक्षता र पार्टी महासचिव कमरेड शंकर पोख्रेलको विशेष उपस्थितिमा सम्पन्न भएको छ ।
बैठकले केन्द्रीय संगठन विभागको प्रस्ताव तथा पार्टी केन्द्रीय कमिटीको निर्णयमा माघ, फाल्गुण र चैत्रमा सञ्चालन गरिएको वडा केन्द्रित पार्टी निर्माणको जरा अभियानले पार्टी गतिविधि बढेको, स्थानीय पार्टी चलायमान भएको, मातहतका अधिकांश अधिवेशनहरू सम्पन्न भएका, पार्टी सदस्यताको नवीकरण र विस्तारका काम अघि बढेको, जनतासँग पार्टी नेता कार्यकर्ताहरूको सम्बन्धमा सुधार भएको निष्कर्ष निकालेको संगठन विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिए ।
‘अभियानले जिम्मेवारी प्राप्त पार्टी नेता कार्यकर्ताहरूको सक्रियता, निर्णयको कार्यान्वयनमा महत्त्वपूर्ण भूमिकाको आवश्यकतामा जोड दिएको छ, पार्टी कमिटीको नियमित जीवनमा यसको निरन्तरतामा बैठकले जोड दिएको छ’, ढुङ्गेलले भने । बैठकले पार्टी सदस्यता नवीकरणको काम विधानको व्यवस्था बमोजिम कार्य सम्पन्न गरी २०८२ वैशाख मसान्तसम्म जिल्लाको डाटा अद्यावधिक गरी प्रदेशमा पठाउन निर्देशन दिने निर्णय बैठकले गरेको छ ।
पार्टी सदस्यहरूको अनलाइन अभिलेखीकरणको काम केन्द्रीकृत रूपमा जेठ महिना भर अभियानकै रूपमा सञ्चालन गरी सम्पन्न गरिसक्न विभागको तर्फबाट विशेष निर्देशन गर्ने निर्णय भएको छ । पार्टी केन्द्रीय सचिवालयको निर्णय अनुसार आगामी भदौ २० देखि २२ सम्म पार्टीको दोस्राे विधान महाधिवेशन आयोजना हुन लागेको परिप्रेक्ष्यमा मातहतका पार्टी कमिटी र कार्यकर्ताबाट पार्टी विधानमा आवश्यक संशोधनका लागि सुझाव सङ्कलन गर्ने बैठकले निर्णय गरेको छ ।
त्यसका लागि जेठ मसान्तसम्मको समय सीमा तोकेर सुझाव संकलन गर्नका लागि केन्द्रीय सचिवालय मार्फत मातहत पार्टी कमिटी र पार्टी सदस्यहरूमा आग्रह गर्ने निर्णय गरिएको उनले जानकारी दिए । पार्टीको संगठनात्मक कामलाई थप सुदृढ पार्न विधानको व्यवस्था बमोजिम कार्यकारी भूमिकामा रहेका कमिटीले विशेष योजना बनाई अनुगमनको कामलाई अघि बढाउन आवश्यक रहेको बैठकले महसुस गरेको छ ।
अनुगमनका विषयहरूलाई आधार बनाई जिल्ला, पालिका र वडा तहका पार्टी कमिटीका बैठक, बैठकका माइन्युट लेखन, निर्णय प्रक्रिया र निर्णय तथा निर्देशन कार्यान्वयन, निर्णय कार्यान्वयनको समीक्षा, आन्तरिक एकता, नेता र कार्यकर्ताको जिम्मेवारी व्यवस्थापन, आधारभूत तहमा जनसंगठनको काम, जनप्रतिनिधि र पार्टी कमिटी बिचको सम्बन्ध, कार्यकर्ता प्रशिक्षण, कार्यालय व्यवस्थापन र सञ्चालन, अनलाइन अभिलेखन लगायतका विषयमा केन्द्रीय संगठन विभागका सदस्यहरूले तोकिएका भौगोलिक जिल्ला तथा गैरभौगोलिक क्षेत्रमा अनुगम नगरी दुई महिनाभित्र केन्द्रीय संगठन विभागमा रिपोट पठाउन निर्देशन दिने निर्णय बैठक गरेको छ ।
प्रतिक्रिया