आविष्कार केन्द्रले १६ थरीका कृषि औजार बनायो

कच्चा पदार्थमा भन्सार छुटको माग

साझा प्रेस
50
Shares

राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जको कृषि औजार कारखाना सञ्चालन र व्यवस्थापनको जिम्मेवारी लिएको ३२ महिनामा १६ थरिका कृषि औजार अनुसन्धान तथा विकास गरेको छ ।

कृषि औजार कारखाना वीरगञ्जका प्रमुख तथा इञ्जिनियर रितेश देवले कारखानामा अहिलेसम्म १६ थरिका कृषि औजार अनुसन्धान र विकास गरेको जानकारी दिए ।

केन्द्रले पराल काट्ने, धान काट्ने (रिपर), दाना बनाउने, धान रोप्ने सानो मेसिन (रिपर), घाँस खुर्किने, ड्याङ बनाउने, खाल्डो खन्ने हाते औजार, आलु रोप्ने, आलु गोड्ने, साना ट्रयाक्टरमा राख्ने कल्टिभेटर, हाते प्रेस मेसिन, प्लास्टिक ओछ्याउने, केराको फाइबर निकाल्ने, गोबर पेल्ने, कोदो रोप्ने मेसिन, चाँप कटर, हाते औजारमा बञ्चरो, खुँडा, साना कुटो कोदाली, चाँपलगायत घरायसी प्रयोजनमा प्रयोग हुने कृषि औजार तयार पारिसकेको छ ।

कारखानाका प्रमुख देवले केन्द्रले केही समयअघि ५० लाख खर्चेर सिएनसी मेसिन ल्याएसँगै औजार उत्पादनमा सहजीकरण र सरलता भएको बताए । अहिले कृषि औजार कारखाना वीरगञ्जमा ३६ कार्यरत छन् । कारखानाका प्रमुख देवले तीनवटै तहका सरकार बजेट निर्माणको पूर्वसन्ध्यामा रहेकाले कृषि औजार कारखानाका लागि आवश्यक पर्ने फलामको कच्चा पदार्थमा भन्सार छुटको व्यवस्था गरिदिनका लागि माग गरेका छन् ।

तत्कालीन सोभियत संघको आर्थिक र प्राविधिक सहयोगमा वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा ल्याइएको थियो । कारखाना २०२४ साल फागुन २८ गते सञ्चालनमा आएको थियो । कारखानाले सुरुआती चरणमा कृषि औजारको उत्पादन गरेर स्वदेशमा मात्र होइन, विदेशमा निर्यात गर्दै आइरहेको थियो । तर कारखाना व्यवस्थापनमा भएका कमीकमजोरीले अन्ततः २०५९ सालसम्म आइपुग्दा कारखाना बन्द हुने अवस्थामा आइपुग्यो ।

केन्द्रलाई पुनर्जीवित बनाउने कोसिस जारी

केन्द्रले दुई दशकभन्दा लामो समयदेखि बन्द भएर अलपत्र भएको औजार कारखानालाई पछिल्लो समय पुनर्जीवित बनाउने कोसिस जारी राखेको छ ।

विसं २०७९ भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले दुई दशकदेखि बन्द अवस्थामा रहेको कृषि औजार कारखानाको व्यवस्थापन र सञ्चालनका लागि राष्ट्रिय अविष्कार केन्द्रलाई १० वर्षका लागि उपलब्ध गराउने निर्णय गरेसँगै कृषि औजार कारखानाले पुनर्जीवन प्राप्त गरेको हो ।

विसं २०७९ असोज ११ गते अर्थ मन्त्रालयका तत्कालीन सहसचिव रमेश केसी र राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरेका थिए । तर केन्द्रले औपचारिक रूपमा काम सुरु भने २०७९ साल माघमा मात्र थालेको हो । पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको काँधमा कृषि औजार कारखाना आउँदा कारखानाको अवस्था भने निकै दयनीय अवस्थामा थियो ।