दमक र पोखरामा एमालेको जागरण सभा आज

साझा प्रेस
0
Shares

आज दमकमा हुने विशाल जागरणसभालाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।

लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा र प्रतिगामी चलखेलका विरुद्ध एमालेले आयोजना गरेको कोशी प्रदेश स्तरीय जागरणसभाको तयारी पुरा भएको जनाएको छ । दमकको पशुहाटमा सभा आयोजना गरिएको छ । सभामा सहभागी हुनका लागि कोशी प्रदेशका गाउँगाउँबाट एमालेका कार्यकर्ताहरु दमक झरिरहेका छन् । एमालेले हिजो साँझ पत्रकार सम्मेलन गरेर जानकारी दिए अनुसार कार्यक्रम स्थलको पूर्वतर्फबाट आउने सवारी साधनहरु रतुवा पुल पारी रोकेर नारा जुलुस सहित सहभागीहरु पशुहाट स्थित कार्यक्रम स्थलमा प्रवेश गर्नेछन् ।

यसैगरी पश्चिमतिरबाट आउने सहभागीहरु पश्चिम बसस्टेन्डमा सवारी रोकेर नारा जुलुस सहित कार्यक्रम स्थल प्रवेश गर्नेछन् । जागरणसभालाई व्यवस्थित गर्नका लागि करिब २ हजार स्वयं सेवक परिचालन गरिएको पार्टीको कोशी प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य शेरधन राईले जानकारी दिए ।
सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आज विहान १० बजे भद्रपुर जाने कार्यक्रम रहेको छ ।

यसैबिच नेकपा एमाले जिल्ला कमिटी कास्कीको आयोजनामा पोखरामा आज जागरण सभा हुँदैछ । लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा तथा प्रतिगामी षड्यन्त्रविरुद्ध एमालेले चिप्लेढुंगामा बृहत् जागरण सभा आयोजना गरेको हो ।