कोशी पर्यटन बर्ष २०८२ को घोषणा तिनजुरेबाट हुँदै

साझा प्रेस
550
Shares

कोशी प्रदेशमा आज बुधबार पर्यटन बर्षको घोषणा हुँदै छ । २०८२ सालमा प्रदेशभित्र १० लाख बढी पर्यटक भित्राउने लक्ष्य सहित आज पर्यटन बर्ष २०८२ घोषणा हुन लागेको हो ।

आज तेह्रथुम, सङ्खुवासभा, र ताप्लेजुङको सङ्गम स्थल तिन जुरे, मिल्के, जलजले क्षेत्रमा रहेको आर आर गार्डेनबाट पर्यटन वर्षको उद्घाटन गर्न लागिएको हो ।

पर्यटन वर्षको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिए पनि अन्तिम समयमा आएर प्रधानमन्त्री भने नआउने भएका छन् । पर्यटन वर्षको उद्घाटन उपप्रधानमन्त्री प्रकाशमान सिंहले गर्ने भएका छन् ।

कोशी प्रदेशलाई पर्यटनको केन्द्रको रूपमा पहिचान र स्थापित गर्ने पर्यटन वर्षको आयोजना गरिएको कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बताए ।

उनका अनुसार यो वर्ष प्रदेशमा मात्रै होइन देश विदेशमा कोशी प्रदेशमा रहेका पर्यटकीय गन्तव्यहरूको प्रचार प्रसार हुनेछ । यहाँका उत्पादनहरूको पहिचान यही वर्षमा ब्राण्डिङ गरिने मुख्यमन्त्री कार्कीले बताए ।

पर्यटन वर्ष सफल बनाउन ५ सय भन्दा बढी व्यक्तिहरूको प्रतिनिधित्वमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा मूल आयोजक समिति गठन भएको छ । यस्तै बन पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डलको नेतृत्वमा निर्देशक समिति बनेको छ ।

निर्देशक समितिका सह संयोजकमा सरकारले भविश श्रेष्ठ र कृष्ण साहलाई नियुक्त गरेको छ । प्रदेश सरकारले प्रदेश सरकारले ८२ का ८२ गन्तव्य भनेर नारा नै बनाएको छ ।

कोशीमै पहिलो पाइला टेक्ने विदेशीको सङ्ख्या वार्षिक ६०–६५ हजारको हाराहारीमा हुने अनुमान सरकारको छ । यो कुल पर्यटकको पाँच प्रतिशत जति मात्रै हो । त्यसमा पनि कोशी प्रदेश आउने विदेशी पर्यटकमध्ये ९३ प्रतिशत खुम्बु क्षेत्र जाने गरेका छन् । भारत लगायतका देशबाट वार्षिक ५ लाख भन्दा बढी पर्यटक नियमित आउने गरेको सरकारको अनुमान छ ।

कोशी प्रदेशमा विभिन्न चारवटा पदमार्ग निर्माण भइरहेका छन् । मुन्धुम पदमार्ग, लालीगुराँस पदमार्ग, फाल्गुनन्द पदमार्ग र चियाबारी पदमार्ग निर्माणको लागि स्विस सरकारसँग सम्झौता भइसकेको छ ।

२ अर्ब ३५ करोड लागतको यो परियोजनाले २९ वटा पालिकालाई छुन्छ । २०८५ सालसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको यो पदमार्गको निर्माणपछि कोशी प्रदेशको पर्यटनलाई ठुलो सहयोग पुग्ने प्रदेश सरकारको अपेक्षा छ ।