नेपाल क्रिकेट टोलीले ५ महिनापछि आफ्नो सहभागिता जनाउन हङकङ पुगेको छ ।
नेपालले बुधबारदेखि त्यहाँ हुने चारदेशीय टी–२०आई सिरिज खेल्नेछ । नेपाल प्रिमियर लिग, प्रधानमन्त्री कप, एलिट कप बहुदिवसीय क्रिकेटदेखि विभिन्न घरेलु लिग खेलेका नेपाली खेलाडी ५ महिलादेखि अन्तर्राष्ट्रिय खेलबाट टाढा थिए ।
बुधवारबाट सुरु हुने चारदेशीय सिरिजमा नेपाल, हङकङसहित कतार र कुवेत समावेश छन् । सिरिजमा सहभागि सबै टोलीले एकअर्कासँग लिग खेल खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।
नेपालले पहिलो खेल कतारसँग खेल्नेछ । बिहीबार कुवेतसँग खेल्ने नेपालले शनिबार हङकङसँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ ।
आईसीसी टी–२०आई वरियतामा नेपाल १७ औं, हङकङ २३ औं, कुवेत २४ औं र कतार २८ औं स्थानमा छ । चार टोलीमध्ये वरियतामा नेपाल सबैभन्दा माथि छ । नेपालले यसअघि हङकङसँग ५, कतारसँग दुई र कुवेतसँग एकपटक खेलेको छ । हङकङसँगको खेलमा २ खेलमा जित र २ खेलमा हार बेहोर्दा एक खेल भने नतिजा विहीन छ । कतारसँग एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ । कुवेतसँग एकपटक मात्रै खेलेको नेपालले जित हात पारेको छ । यसपटक पनि जित निकाल्दै सिरिज आफ्नो पक्षमा पार्ने नेपालको योजना छ ।
टोली मुख्य प्रशिक्षक स्टुअर्ट ल यो सिरिजमा उपलब्ध नहुँदा टोलीको प्रशिक्षकको जिम्मेवारी पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सम्हाल्ने छन् । करिब ५ महिना घरेलु क्रिकेटमा व्यस्त रहेका नेपाली क्रिकेटर अब भने अन्तर्राष्ट्रिय क्रिकेटमा रमाउने छन् । क्यानले सार्वजनिक गरेको क्यालेन्डर अनुसार नेपालले हरेक महिना अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ ।
प्रतिक्रिया