अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियू) सोलुखुम्बुले शिक्षकहरुको जारी आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । सोलुखुम्बुमा सम्पन्न संगठनको १२ औं जिल्ला अधिवेशनका क्रममा शिक्षकहरुको आन्दोलन प्रति ऐक्यबद्धता जनाएको हो ।
शिक्षा ऐन, शैक्षिक क्षेत्रको सुधार तथा अन्य शैक्षिक सरोकारका बिषयलाई लिएर देशैभरीका शिक्षकहरुको राजधानी काठमाण्डौ केन्द्रित आन्दोलन प्रति अनेरास्ववियू, सोलुखुम्बुले ऐक्यबद्धता सहित यथासिघ्र शिक्षकहरुको माग सम्बोधनका लागि सरकार तथा सम्बन्धित पक्षसँग माग गरेको छ ।
यो सँगै अधिवेशनले बिभिन्न ४ वटा समसायिक प्रस्ताव पारित गरेको नविनिर्वाचित अध्यक्ष नरेन्द्र कुलुङले जानकारी दिए । अधिवेशनले शिक्षा क्षेत्रमा बैचारिक दृष्टिकोणका आधारमा स्थानिय तहले गर्ने शिक्षक सरुवा प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । शैक्षिक क्षेत्रको बीचमा गरिने यस्ता प्रकृतिका सरुवाले बिद्यार्थीको पठनपाठनमा समस्या एवं दुरगामी प्रभाव पर्ने भएको हुँदा अविलम्ब यस्ता कार्यहरु नगर्न स्थानिय सरकारसँग माग गरिएको छ ।
यस्तै, स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन तोकिएको मितिमा हुन नसकेका सोलुखुम्बु जिल्ला अन्र्तगतका क्याम्पसहरुमा तत्कालै निर्वाचनको प्रक्रिया शुरु गर्न तथा संविधानमा व्यवस्था भएअनुसारका शिक्षा सम्बन्धि मौलिक हकहरुको अनिवार्य कार्यान्वयनका लागि सबै तहका सरकारसँग अनेरास्ववियूले माग गरेको छ ।
हाल सोलुखुम्बु जिल्लाका ५ वटा क्याम्पस मध्ये ४ वटा क्याम्पसमा स्ववियू निर्वाचन बाँकी रहेको अध्यक्ष नरेन्द्र कुलुङले जानकारी दिएका छन् ।
प्रतिक्रिया