आन्दोलनको नाममा भएको हिंसात्मक गतिविधिका विषयमा मानवअधिकार एलाइन्सको ध्यानाकर्षण

साझा प्रेस
1.1k
Shares

मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल सोलुखुम्बुले पूर्व राजावादीहरूले काठमाडौँमा गरेको आन्दोलनमा भएको हिंसात्मक गतिविधिका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।  

चैत्र १५ गते काठमाडौँमा आन्दोलनमा क्रममा राजावादीहरूले गरेको हिंसात्मक गतिविधिका विषयमा एलाइन्सले विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको हो । 

हिंसात्मक आन्दोलन गर्नेलाई  कानुनको दायरा ल्याउ, नागरिकका आधारभूत मानवअधिकारको रक्षा गर भन्ने नाराका साथ जारी विज्ञप्तिमा जनताका आधारभूत मानव अधिकारको रक्षा गरी शान्ति पूर्ण वातावरण निर्माण गर्न मानवअधिकार एलाइन्सको माग छ ।  

नागरिकका नैसर्गिक अधिकार उल्लङ्घन गर्ने, सञ्चार गृहहरूमाथि आक्रमण तथा आगजनी गर्न, राष्ट्रिय मानव अधिकार संस्थाहरूप्रति आक्रमण गर्ने र आम नागरिकहरूमा त्रासदी सिर्जना गर्ने जस्ता अमानवीय र मानवता विरोधी गतिविधिहरू निन्दनीय र खेदजनक कार्य रहेको विज्ञप्तिमा उल्लेख छ । 

नेपालका नागरिक सङ्घ संस्थाहरू जुनसुकै अवस्थामा पनि मानवअधिकार, सामाजिक न्याय, स्वतन्त्रता, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको पक्षमा रहेको मानवअधिकार एलाइन्सका अध्यक्ष श्रवण कुमार कार्कीले बताए ।

हिंसात्मक र विध्वंसात्मक  गतिविधिमा संलग्न पक्षहरूलाई कानुनको दायरमा ल्याउन, घाइतेहरूको शीघ्र उपचार गर्न र मृतक परिवारलाई उचित क्षतिपूर्ति दिलाउन मानव अधिकार एलाइन्सले नेपाल सरकारलाई आग्रह गरेको छ । 

शुक्रवार तीनकुनेमा भएको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको ज्यान गएको थियो । साथै केही सञ्चार गृहमा तोडफोडसमेत भएको थियो ।